काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने निर्णय गरेको छ।
अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रदेश सरकार गठनको सत्ता समीकरणबाट टाढा रहने निर्णय गरेको हो।
बैठकले राप्रपा अहिले कुनै पनि प्रदेश सरकारको सत्ता राजनीतिमा हुने ‘गणितीय चलखेल’मा सहभागी नहुने र त्यसका लागि लालायितसमेत नरहेको निष्कर्ष निकालेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए। प्रदेश सरकार नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाले नै गठन गरून् भन्ने पार्टीको धारणा रहेको उनले बताए।
यद्यपि, भविष्यमा प्रदेश सरकारका सम्बन्धमा निर्णय लिनुपर्ने अवस्था आए पार्टीको बृहत्तर हितलाई ध्यानमा राखेर आवश्यक निर्णय लिन अध्यक्ष लिङ्देनलाई अधिकार दिइएको छ। साथै पार्टीको आधिकारिक निर्देशनबिना सत्ता केन्द्रित कुनै पनि गतिविधिमा सहभागी नहुन सबै प्रदेश संसदीय दल तथा प्रदेशसभा सदस्यलाई निर्देशन दिइएको छ।
बैठकले आगामी मंसिर २६, २७ र २८ गते हुने पार्टीको महाधिवेशनलाई भव्य, व्यवस्थित र सफल बनाउन विभिन्न समिति गठन गर्दै तयारी तीव्र पार्ने निर्णयसमेत गरेको छ।
महाधिवेशनका लागि अध्यक्ष लिङ्देनको संयोजकत्वमा राजनीतिक प्रतिवेदन समिति गठन गरिएको छ। उपाध्यक्ष बुद्धिमान तामाङको नेतृत्वमा सभा तथा जुलुस व्यवस्थापन समिति, ध्रुवबहादुर प्रधानको संयोजकत्वमा अतिथि सत्कार समिति र हेमजङ गुरुङको नेतृत्वमा भोजन व्यवस्थापन समिति गठन गरिएको छ।
त्यस्तै, महामन्त्री भुवन पाठकको संयोजकत्वमा समारोह व्यवस्थापन समिति, महामन्त्री राजेन्द्र गुरुङको नेतृत्वमा जिल्ला समन्वय तथा सम्पर्क समिति र कोषाध्यक्ष नीलकण्ठ काफ्लेको संयोजकत्वमा आर्थिक समिति गठन गरिएको छ।
गण्डकी प्रदेश अध्यक्ष पञ्चराम गुरुङको नेतृत्वमा सांस्कृतिक कार्यक्रम तथा झाँकी व्यवस्थापन समिति, कार्यसम्पादन समिति सदस्य डा. विष्णु भण्डारीको संयोजकत्वमा बौद्धिक सम्पर्क तथा समन्वय समिति तथा प्रवक्ता मोहनकुमार श्रेष्ठको नेतृत्वमा प्रचारप्रसार समिति गठन गरिएको छ।
यसैगरी, केन्द्रीय सदस्य दीपक रञ्जितको संयोजकत्वमा शान्ति–सुरक्षा तथा व्यवस्थापन समिति, इन्जिनियर सजिना कार्कीको संयोजकत्वमा स्वास्थ्य समिति तथा ध्रुवविक्रम मल्लको नेतृत्वमा स्वयंसेवक व्यवस्थापन समिति गठन गरिएको छ। काठमाडौं, ललितपुर र भक्तपुर जिल्लालाई स्वागतद्वार व्यवस्थापनको जिम्मेवारी दिइएको छ।
राप्रपाले महाधिवेशनलाई संगठित, व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक संरचना निर्माण गर्दै संगठनात्मक गतिविधिलाई तीव्रता दिएको जनाएको छ।