आज मन्त्रिपरिषद् विस्तार हुँदै, को–को बन्दैछन् मन्त्री ?


काठमाडौँ– लामो समयपछि आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ ।सत्ता गठबन्धनका दलबीच मन्त्रालय भागवण्डा मिले पछि आज (शुक्रबार) प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीपरिषद् विस्तार गर्न लागेका हुन् । साँझसम्ममा मन्त्रीहरूलाई शपथ ग्रहण गराउने तयारी छ ।  सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस र गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी, नेपाल (जसपा)का शीर्ष नेताहरूबीच मन्त्रालयको संख्यामा मंगलबारको बैठकमै सहमति भएको हो । जसमा कांग्रेसले ८ मन्त्री र एक राज्यमन्त्री, माओवादी केन्द्रले ५ मन्त्री र एक राज्यमन्त्री, नेकपा एकीकृत समाजवादीले ४ मन्त्री र एक राज्यमन्त्री र जसपाले चार मन्त्री पाउने सहमति जुटेको थियो । माओवादीले मन्त्रीको टुंगो लगाएको भए पनि अरु दलले को पठाउने भन्ने टुंगो लगाएका छैनन् ।


प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा भएको सहमतिअनुसार नेकपा एसले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सहरी विकास मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र श्रम तथा रोजगार मन्त्रालय पाउने भएको छ । यस्तैगरी, काग्रेसले कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय, रक्षा मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, महिला बालिका तथा जेष्ठ नागरिक मन्त्रालय पाएको छ ।


यसअघि नै गृह र परराष्ट्र मन्त्रालय लिइसकेको कांग्रेसले स्वास्थ्य मन्त्रालय भने छोडेको छ । यस्तै अर्थ र उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय लिएको माओवादी केन्द्रले भूमि व्यवस्था मन्त्रालय, सहकारी तथा गरिबी निवारण मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र खानेपानी मन्त्रालय पाएको छ । माओवादीको बुधबार बसेको स्थायी कमिटी बैकले देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वर गहतराजलाई मन्त्री र वोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय गरिसकेको छ । यद्यपि, कुन नेतले कुन मन्त्रालय लिने भन्ने तोकेको छैन ।


यस्तै जसपाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र कृषि तथा पशुपक्षी मन्त्रालय पाउने भएको छ । तर जसपाले मन्त्रीहरू भने छान्न सकेको छैन । अध्यक्ष उपेन्द्र यादव, संघीय परिषदका अध्यक्ष डा बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईले मन्त्री छान्ने जिम्मेवारी पाएका छन् । उनीहरूले बिहीबार आकांक्षीहरुसँग संवाद गरेका थिए । तर नाम टुंगो भइनसकेको छैन । सत्तारुढ दलहरूले मन्त्रीहरुको नाम पठाएपछि शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने र साँझसम्म शपथ भइसक्ने प्रधानमन्त्री देउवानिकट एक नेताले जानकारी दिए । मन्त्रालय भागबण्डामा असन्तुष्ट देखिएको नेकपा एसलाई बिहीबारको बैठकले प्रदेश १ र बागमती प्रदेशको मुख्यमन्त्रीसमेत दिने भएपछि नेकपा एस मन्त्रिपरिषद् विस्तारमा सकारात्मक देखिएको छ । 

प्रतिक्रिया