टोकियो। बलेवा सेवा समाज जापानको २०२५–२०२७ कार्यकालअन्तर्गत चौथो नियमित औपचारिक बैठक टोकियोस्थित एशियन रेस्टुरेन्ट साकुरामा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष सुरेन्द्र पौडेल ‘प्रेम’को सभापतित्वमा सम्पन्न बैठकको सञ्चालन महासचिव रोशन चापागाईँले गरेका थिए।
बैठकमा संरक्षक महेन्द्र पीसी, सेवक पीसी, महेन्द्र ढकाल, सल्लाहकार शेषकान्त रिजाल, दीप पाठक, दीपक पौडेल तथा संस्थाका पदाधिकारी र सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले संस्थाको भावी कार्यदिशा, सामाजिक गतिविधि र आगामी कार्यक्रमहरूबारे सुझाव तथा अनुभव प्रस्तुत गर्दै विस्तृत छलफल गरेका थिए।
बैठकले भगवान श्रीकृष्णको जन्मोत्सव श्रद्धा र भक्तिपूर्वक मनाउने तथा उहाँले प्रतिपादन गर्नुभएको धर्म, सत्य, कर्म र मानवताको सन्देश नेपाली समुदायमा प्रवाह गर्ने उद्देश्यसहित आगामी २०२६ सेप्टेम्बर ४ (शुक्रबार) शिन–ओकुबोस्थित सोलमारी रेस्टुरेन्टमा श्रीकृष्ण जन्माष्टमी विशेष धार्मिक प्रवचन तथा भजन कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ। कार्यक्रममा बलेवाली गुरु गणेश पौडेलको विशेष उपस्थिति रहने जनाइएको छ।
कार्यक्रमलाई सफल बनाउन संस्थाले विभिन्न उपसमितिहरू पनि गठन गरेको छ। मूल व्यवस्थापन समितिको संयोजकमा सल्लाहकार दीप पाठक र उपसंयोजकमा संरक्षक सेवक पीसीलाई जिम्मेवारी दिइएको छ। आर्थिक व्यवस्थापन समितिको संयोजकमा अध्यक्ष सुरेन्द्र पौडेल ‘प्रेम’, अतिथि सत्कार समितिको संयोजकमा राजु के.सी., भजन व्यवस्थापन समितिको संयोजकमा यमप्रसाद पौडेल ‘गरिब गाउँले’, पूजा व्यवस्थापन समितिको संयोजकमा श्रद्धा पी.सी., स्वयंसेवक समितिको संयोजकमा विकास के.सी. तथा उपसंयोजकमा राजेश रिजाल ‘इन्द्र’ र प्रचार–प्रसार समितिको संयोजकमा अर्जुन लामिछानेलाई जिम्मेवारी प्रदान गरिएको छ।
बैठकमा अध्यक्ष सुरेन्द्र पौडेल ‘प्रेम’ले बलेवा सेवा समाज जापानलाई २०२६ जुलाई ६ मा नेपाली राजदूतावास, टोकियोका कार्यवाहक राजदूत हरिहरकान्त पौडेलसमक्ष आवश्यक कागजात पेश गरी संस्थालाई विधिवत् रूपमा सूचीकृत गरिएको जानकारी दिएका थिए। उनले उक्त सूचीकरणले संस्थाको औपचारिक पहिचान स्थापित गर्नुका साथै आगामी गतिविधिलाई थप प्रभावकारी र व्यवस्थित बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
संस्थाले आगामी श्रीकृष्ण जन्माष्टमी विशेष कार्यक्रमलाई सफल बनाउन जापानमा रहेका सम्पूर्ण नेपाली समुदाय, विशेषगरी आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई सक्रिय सहभागिता र सहयोगका लागि हार्दिक अनुरोध गरेको छ।
यसैबीच, बैठकले संस्थाको संगठन सुदृढीकरण, सामाजिक सेवा विस्तार तथा दीर्घकालीन कार्ययोजनासम्बन्धी विभिन्न महत्वपूर्ण निर्णयहरू पनि गरेको जनाएको छ। ती निर्णयहरूको विस्तृत विवरण कार्यसमिति समूहमार्फत छिट्टै सार्वजनिक गरिने संस्थाले जनाएको छ।