चालु आवको पहिलो त्रैमासमा आर्थिक वृद्धिदर ३.४ प्रतिशतमा सीमित

काठमाडौं - मुलुकको आर्थिक वृद्धिदर चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३.४ प्रतिशतमा सीमित भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार यो वृद्धिदर सरकारको ६ प्रतिशतको लक्ष्यभन्दा धेरै कम हो। अर्थतन्त्रमा धनात्मक वृद्धि मुख्यतः कृषि उत्पादन, विद्युत उत्पादन तथा वितरण, पर्यटन, होटल, यातायात, र सार्वजनिक प्रशासनका क्षेत्रबाट प्रेरित भएको छ। तर, बाढी, पहिरो र निर्माण क्षेत्रमा ऋणात्मक वृद्धिले समग्र आर्थिक वृद्धिमा नकारात्मक प्रभाव पारेको छ।

आर्थिक वृद्धि भएका प्रमुख क्षेत्रमध्ये विद्युत र ग्याँस क्षेत्रले २१.४ प्रतिशत वृद्धिदर हासिल गरेको छ भने यातायात र गोदाम क्षेत्रमा ६.७ प्रतिशत वृद्धि भएको छ। यसैगरी, आवास तथा भोजन सेवा क्षेत्रमा ६.३ प्रतिशत र वित्तीय तथा विमा क्षेत्रमा ५.७ प्रतिशत वृद्धिदर देखिएको छ। तर, निर्माण क्षेत्र भने आयात घटेका कारण झिनो अङ्कले ऋणात्मक बनेको छ।

कृषि, वन, र मत्स्य क्षेत्रमा ३ प्रतिशतको वृद्धिदर देखिएको छ, जसमा धान, तरकारी, नगदे वाली, र पशुपन्छी उत्पादनको योगदान रहेको छ। मनसुनी वर्षा, मल र उन्नत बीउको उपलब्धताले उत्पादनमा वृद्धि भए पनि बाढी र पहिरोका कारण यो क्षेत्रले उल्लेखनीय वृद्धिदर हासिल गर्न सकेन।

थोक र खुद्रा व्यापार क्षेत्रमा ०.५ प्रतिशतको सामान्य वृद्धि भएको छ, जबकि औद्योगिक वस्तु उत्पादन क्षेत्रमा २.३ प्रतिशत वृद्धि भएको छ। शिक्षा, स्वास्थ्य, र घरजग्गा कारोबारजस्ता सेवा क्षेत्रमा पनि सामान्य वृद्धिदर कायम रहेको छ।

प्रतिक्रिया