काठमाडौं । पश्चिमी वायु र बंगालको खाडीमा विकसित चक्रवात ‘मोनथा’को प्रभावले नेपालमा कात्तिक १३ गतेदेखि तीन दिनसम्म भारी वर्षा तथा हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागले बुधबार जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार देशका विभिन्न प्रदेशमा वर्षा र हिमपातको सम्भावना रहेकाले सतर्कता अपनाउनुपर्ने देखिएको छ ।
विभागका अनुसार कात्तिक १२ गते बुधबार कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्यतया बादल लाग्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ । देशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्नेछ । मधेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा हल्का वर्षाको सम्भावना छ ।
बुधबार राति देशभर सामान्यतया बादल लाग्ने पूर्वानुमान गरिएको छ । कोशी प्रदेशको हिमाली क्षेत्रमा केही स्थानमा तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा मध्यम वर्षा तथा हिमपात हुन सक्ने विभागले जनाएको छ । मधेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रमा पनि मध्यम वर्षाको सम्भावना छ ।
कात्तिक १३ गते बिहीबार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका साथै कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा सामान्यतया बादल लाग्नेछ । अन्य क्षेत्रमा आंशिक बदली रहनेछ । कोशी र बागमती प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा अन्य हिमाली क्षेत्रका धेरै स्थानमा मध्यम वर्षा र हिमपात हुन सक्ने अनुमान गरिएको छ ।
बिहीबार कोशी, मधेश र बागमती प्रदेशका केही स्थानमा तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ । बिहीबार राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा वा हिमपात हुन सक्ने विभागको पूर्वानुमान छ ।
कात्तिक १४ गते शुक्रबार पनि देशका अधिकांश स्थानमा बादल लाग्नेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा र हिमपात हुन सक्नेछ । यस दिन कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
शुक्रबार राति पनि देशका अधिकांश हिमाली क्षेत्रमा बादल लाग्ने र अन्य भूभागमा सामान्यतया बदली रहनेछ । सातवटै प्रदेशका विभिन्न स्थानमा वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ । विशेषगरी कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा तथा हिमपातको सम्भावना छ ।
कात्तिक १५ गते शनिबार पनि सातवटै प्रदेशका हिमाली क्षेत्रमा अधिकांश स्थानमा बादल लाग्नेछ भने अन्य भूभागमा आंशिक बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने विभागले जनाएको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।
यस अवधिमा तराईका केही स्थानमा बिहानपख हुस्सु तथा कुहिरो लाग्न सक्ने विभागको पूर्वानुमान छ । वर्षा र हिमपातको सम्भावित प्रभावलाई ध्यानमा राख्दै यात्रा तथा दैनिक गतिविधि सञ्चालन गर्दा मौसमसम्बन्धी सूचनामा ध्यान दिनु आवश्यक देखिएको छ ।