रोल्पामा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु, १० जना बेपत्ता

काठमाडौँ । रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता भएका छन्। पहिरोमा परी दुई जना घाइते भएका छन्।

बुधबार राति करिब ८ः४० बजे खसेको पहिरोले स्थानीय कमलबहादुर पुनमगरको घरसहित करिब ६ वटा घर तथा गोठ पुरेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।

पहिरोमा पुरिएको अवस्थामा ६० वर्षीय कमलबहादुर पुनमगर र १८ वर्षीया शान्ति पुनमगरलाई मृत फेला पारिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी पञ्चकुमार बाखुले जानकारी दिए।

स्थानीयवासीको सहयोगमा २२ वर्षीय हिमाल पुनमगर र २५ वर्षीय सञ्जय घर्तीमगरलाई घाइते अवस्थामा उद्धार गरिएको छ। उनीहरूको अवस्था र उपचारबारे थप विवरण आउन बाँकी छ।

घटनाबारे राति करिब ९ः३० बजे जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय उवाबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। थप उद्धार तथा खोजीका लागि बिहीबार बिहान ४ बजे डीएसपी पञ्चकुमार बाखुको कमाण्डमा विपद् उद्धार सामग्रीसहित १३ जनाको प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको छ।

यस्तै, बिहान करिब ४ः३० बजे रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीसमेत घटनास्थल पुगेका छन्। घटनास्थलमा सुरक्षाकर्मी तथा स्थानीयवासीको सहयोगमा उद्धार र बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रारम्भिक विवरणअनुसार पहिरोमा परी १० जना बेपत्ता भएको खुलेको छ। घटनास्थलमा सञ्चार सम्पर्कसमेत कठिन रहेकाले थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय