धार्मिक सद्भाव जोगाउन सबै नेपालीलाई आईजीपी कार्कीको आह्वान

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले पूर्वी तराईका केही क्षेत्रमा देखिएको तनावपूर्ण अवस्थाप्रति चिन्ता व्यक्त गर्दै धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न सम्पूर्ण नेपालीलाई आग्रह गरेका छन्।

आईजीपी कार्कीले केही स्थानमा धार्मिक सद्भावमा खलल पुग्ने, डर र त्रासको वातावरण सिर्जना गर्ने तथा सामाजिक एकतामा असर पर्ने गतिविधि देखिनु दुःखद भएको बताएका हुन्। उनले सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने, उत्तेजक अभिव्यक्ति दिने वा कानुनविपरीत गतिविधिमा संलग्न हुने कार्य कसैको हितमा नहुने स्पष्ट पारे।

उनका अनुसार यस्ता गतिविधिले समाजमा तनाव, अविश्वास र विभाजन मात्र बढाउने भएकाले संवेदनशील परिस्थितिमा सबैले विवेक, संयमता र सहिष्णुता अपनाउन आवश्यक छ।

आईजीपी कार्कीले एकअर्काको अधिकार, आस्था, संस्कार र मर्यादाको सम्मान गर्नु सबै नागरिकको साझा दायित्व भएको उल्लेख गर्दै फरक–फरक धर्म, संस्कृति र परम्परा भए पनि सबै नेपाली एउटै राष्ट्रका नागरिक भएकाले राष्ट्रिय एकता र भाइचारालाई बलियो बनाउनुपर्नेमा जोड दिए।

उनले यस संवेदनशील घडीमा अफवाह र घृणाभन्दा सामाजिक सद्भाव, आपसी सम्मान र राष्ट्रिय एकतालाई प्राथमिकता दिन सम्पूर्ण नेपालीमा अपिल गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय