काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा नेपालको वस्तु निर्यात १२.३ प्रतिशतले वृद्धि भएर २ खर्ब ७७ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ। यद्यपि, आयात अझ तीव्र गतिमा बढेपछि व्यापार घाटा १५.७ प्रतिशतले विस्तार हुँदै १६ खर्ब १६ अर्ब १३ करोड रुपैयाँ पुगेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा भारततर्फको निर्यात १३.६ प्रतिशत र अन्य मुलुकतर्फको निर्यात ९.२ प्रतिशतले बढेको छ। तर चीनतर्फको निर्यात भने ३५.८ प्रतिशतले घटेको छ। वस्तुगत रूपमा भटमासको तेल, पाम तेल, अलैंची, चाउचाउ र ब्रान्डीको निर्यात बढ्दा जिंक सिट, पार्टिकल बोर्ड, चिया, ऊनी गलैंचा तथा हस्तकलाका सामग्रीको निर्यातमा गिरावट आएको छ।
यस अवधिमा कुल वस्तु आयात १५.२ प्रतिशतले बढेर १८ खर्ब ९४ अर्ब १० करोड रुपैयाँ पुगेको छ। भारतबाट हुने आयात ११.८ प्रतिशत, चीनबाट २१.५ प्रतिशत र अन्य मुलुकबाट १८.९ प्रतिशतले बढेको छ। पेट्रोलियम पदार्थ, चाँदी, यातायात उपकरण, सवारी साधन तथा स्पेयर पार्ट्स, रासायनिक मल र भटमासको कच्चा तेलको आयात बढेको छ भने खाने तेल, हट रोल्ड सिट इन क्वायल, लसुन, एमएस तार, छड, बार, क्वायल तथा एमएस बिलेटको आयात घटेको छ।
निर्यातको तुलनामा आयातको वृद्धि उच्च रहेकाले निर्यात–आयात अनुपात घटेर १४.७ प्रतिशतमा सीमित भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा १५.१ प्रतिशत थियो।
समीक्षा अवधिमा भारतबाट परिवर्त्य विदेशी मुद्रामा भुक्तानी गरी १ खर्ब ८० अर्ब १० करोड रुपैयाँ बराबरका वस्तु आयात गरिएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १ खर्ब ६७ अर्ब ३० करोड रुपैयाँ रहेको थियो।
आर्थिक वर्गीकरणअनुसार कुल निर्यातमा अन्तिम उपभोग्य वस्तुको हिस्सा ६९.३ प्रतिशत, मध्यवर्ती वस्तुको ३० प्रतिशत र पुँजीगत वस्तुको ०.७ प्रतिशत रहेको छ। त्यस्तै, कुल आयातमा अन्तिम उपभोग्य वस्तुको हिस्सा ३८.८ प्रतिशत, मध्यवर्ती वस्तुको ५१.८ प्रतिशत र पुँजीगत वस्तुको ९.४ प्रतिशत रहेको छ।
वार्षिक बिन्दुगत आधारमा २०८३ जेठमा भन्सार तथ्यांकमा आधारित निर्यातको एकाइ मूल्य सूचकांक ४.२ प्रतिशतले बढ्दा आयात मूल्य सूचकांक २१ प्रतिशतले वृद्धि भएको छ। सोही अवधिमा नेपालको व्यापारको सर्त (टर्म्स अफ ट्रेड) १३.९ प्रतिशतले कमजोर भएको राष्ट्र बैंकले जनाएको छ।