काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निलम्बित महामन्त्री मुकुल ढकाललाई पार्टीबाट पूर्णरूपमा निष्कासित गरेको छ। आज आयोजित केन्द्रीय समिति बैठकमा ढकाललाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट हटाउने निर्णय गरिएको हो।
ढकालमाथि पार्टीको हितविरुद्ध गतिविधि गरेको आरोप लागेको छ। यसअघि पार्टीले पटक-पटक स्पष्टीकरण माग्दा पनि ढकालले पार्टी सभापति रवि लामिछानेमाथि विभिन्न आरोप लगाउँदै जवाफ दिएका थिए।
बैठकपछि कार्यवाहक प्रवक्ता मनिषले भने, "अनुशासन आयोगले यसअघि नै यथेष्ट प्रमाणहरू संकलन गरेर कारबाहीको सिफारिस गरेको थियो। तर, पार्टीले ढकाललाई स्पष्टीकरणको मौका दिएको थियो। उहाँको स्पष्टीकरणमाथि पनि छलफल गरियो। पार्टीको विधान र राजनीतिक दलसम्बन्धी नियमअनुसार कारबाही गरिएको छ।"