काठमाडौं । नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता फागुन २०८२ मा उल्लेख्य रूपमा घटेको छ। उद्योग विभाग का अनुसार फागुन महिनामा मात्र ३८ करोड ६० लाख रुपैयाँ बराबरको एफडीआई प्रतिबद्धता प्राप्त भएको छ, जुन पछिल्लो समयकै न्यून स्तर हो।
माघसम्म ४० अर्ब २८ करोड रुपैयाँ रहेको कुल प्रतिबद्धता फागुनसम्म आइपुग्दा ४० अर्ब ६६ करोड रुपैयाँमा मात्र सीमित भएको छ। चालु आर्थिक वर्षको सुरुवातमा भने साउन महिनामा २० अर्बभन्दा बढी एफडीआई प्रतिबद्धता आएको थियो। तर भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि लगानीकर्ताको चासो घट्दै गएको देखिन्छ।
गत आर्थिक वर्षको तुलनामा यस वर्षको अवस्था कमजोर देखिएको छ। २०८१ सालको फागुनमा मात्रै १७ अर्ब ७९ करोड रुपैयाँ बराबरको एफडीआई प्रतिबद्धता आएको थियो, जसका आधारमा सो वर्ष फागुनसम्म कुल ४४ अर्ब ६६ करोड रुपैयाँ लगानी स्वीकृत भएको थियो।
यता, चालु आर्थिक वर्षको फागुनसम्म कुल ५५४ कम्पनी दर्ता भएका छन्। जसमध्ये ३७७ कम्पनी अटोमेटिक रुटमार्फत र १७७ कम्पनी अप्रुभल रुटमार्फत दर्ता भएका छन्। फागुन महिनामा मात्रै ३० नयाँ कम्पनी दर्ता भएका छन्।
दर्ता भएका उद्योगमध्ये साना उद्योगको वर्चस्व देखिएको छ। कुल ५३७ साना उद्योग दर्ता हुँदा मझौला र ठूला उद्योग समान रूपमा ८–८ वटा मात्र रहेका छन्। फागुनमा दर्ता भएका सबै ३० उद्योग साना प्रकृतिका छन्।
क्षेत्रगत रूपमा हेर्दा सूचना प्रविधि (आईटी) क्षेत्र सबैभन्दा आकर्षक देखिएको छ। कुल ३०७ आईटीसम्बन्धी उद्योग दर्ता भएका छन्, जुन कुल दर्ताको करिब ५५ प्रतिशत हो। त्यसैगरी पर्यटन क्षेत्रमा १५५ (२८ प्रतिशत), उत्पादन क्षेत्रमा ३७ र कृषि क्षेत्रमा १४ उद्योग दर्ता भएका छन्।