दमौली, तनहुँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफ्नै आम्दानीबाट देश निर्माण गर्ने लक्ष्यसहित सरकारले नयाँ बजेट ल्याएको बताउनुभएको छ।
आफ्नो निर्वाचन क्षेत्र तनहुँको भ्रमणमा रहनुभएका अर्थमन्त्री वाग्लेले बिहीबार जिल्ला समन्वय समिति तनहुँको वार्षिक समीक्षा कार्यक्रम उद्घाटन गर्दै राज्यको कमजोर आम्दानीका कारण ऋण लिएर दैनिक खर्च धान्नुपर्ने अवस्थाको अन्त्य गर्न सरकार केन्द्रित रहेको बताउनुभयो।
उहाँका अनुसार करको दायरा फराकिलो बनाएर थोरै–थोरै योगदानबाट राज्यको आम्दानी बढाउने नीति सरकारले लिएको छ। आफ्नै आम्दानीले देश विकास गर्ने अवस्था सिर्जना गर्नुपर्नेमा जोड दिँदै उहाँले जनताको विकाससम्बन्धी अपेक्षा र मुलुकको आर्थिक सामर्थ्यबीच ठूलो अन्तर रहेको बताउनुभयो।
दातृ निकायबाट प्राप्त हुने ऋणसमेत महँगो हुँदै गएको अवस्थामा मुलुक आफैँ आर्थिक रूपमा सबल बन्नुको विकल्प नरहेको उहाँको भनाइ छ।
“विगतदेखि नै हामीले देखिरहेका छौँ। ऋण लिएर ऋण र त्यसको ब्याज तिरिरहेका छौँ। नियमित र अत्यावश्यक राज्यको दायित्व साढे १३ सय अर्ब छ। सरकारको आम्दानी १२ सय ५० अर्ब हाराहारी मात्रै छ,” अर्थमन्त्री वाग्लेले भन्नुभयो, “अहिले हामीले करको दर फराकिलो बनाएको र कर तिर्न प्रोत्साहनका कार्यक्रम ल्याएको यसैका लागि हो।”
ऋण लिन नहुने, कर पनि तिर्न नपर्ने तर विकास भने जसरी पनि हुनुपर्ने मानसिकताबाट सबै पक्ष माथि उठ्नुपर्ने उहाँले बताउनुभयो। करको दायरा विस्तार गर्दा नयाँ क्षेत्रमा कर थपिएको भन्ने गुनासो सम्बोधन गर्दै सरकारले अन्तिम कर दायित्वबाट सर्वसाधारणलाई जोगाउने विषयमा आश्वस्त रहनसमेत उहाँले आग्रह गर्नुभयो।
सरकारले २१ खर्ब २४ अर्ब रुपैयाँको बजेटमार्फत निजी क्षेत्रलाई उत्साहित बनाउँदै ६६ खर्ब रुपैयाँ बराबरको अर्थतन्त्रलाई चलायमान बनाउने लक्ष्य लिएको पनि अर्थमन्त्री वाग्लेले स्पष्ट पार्नुभयो।
प्रवासी नेपालीलाई समेत नेपालमा लगानी गर्न सहज वातावरण निर्माण गर्ने प्रक्रिया सरकारले छिट्टै अघि बढाउने उहाँले जानकारी दिनुभयो।