☰

इरानी मिसाइल आक्रमणपछि ट्रम्प आक्रामक, शक्तिशाली जवाफ दिने चेतावनी

काठमाडौँ । इरानले जोर्डनस्थित अमेरिकी सैन्य अड्डालाई लक्षित गर्दै मिसाइल प्रहार गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कडा प्रतिक्रिया दिएका छन्। बुधबार बिहान फक्स न्युजसँग कुरा गर्दै ट्रम्पले इरानलाई ‘उनीहरूको औकात देखाइदिने’ चेतावनी दिएका हुन्।

ट्रम्पले अमेरिकाले इरानमाथि अत्यन्त शक्तिशाली जवाफ दिने बताउँदै हालै भएको मिसाइल आक्रमणको उचित प्रतिकार गरिने स्पष्ट पारे। उनका अनुसार इरानले प्रहार गरेका ब्यालिस्टिक मिसाइल रोक्न जोर्डनमा तैनाथ अमेरिकी सैनिकसँग केही मिनेटको मात्र समय थियो। उनले अमेरिकी सैन्यकर्मीहरूले वास्तविक समयमा समन्वय गर्दै मिसाइल प्रतिरक्षा अभियान सञ्चालन गरेको भिडियो आफूले हेरेको समेत बताएका छन्।

अमेरिकी सेनाको सेन्ट्रल कमाण्ड (सेन्टकम)ले इरानले प्रहार गरेका सबै मिसाइल सफलतापूर्वक अवरोध गरिएको जनाएको छ। सेन्टकमका अनुसार घटनामा कुनै मानवीय क्षति वा भौतिक नोक्सानी भएको विवरण प्राप्त भएको छैन।

उता, इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी)ले जोर्डनस्थित मुवाफ्फक अल–सल्ती एयर बेस तथा अमेरिकी सेनाको सेन्ट्रल कमाण्डको मुख्यालयलाई लक्षित गरी ब्यालिस्टिक मिसाइल प्रहार गरिएको जनाएको छ। आईआरजीसीले यो जानकारी इरानको सरकारी समाचार संस्था आईआरएनएमार्फत सार्वजनिक गरेको हो।

यस्तै, जोर्डनको सेनाले पनि इरानले प्रहार गरेका पाँचवटा मिसाइल आकाशमै अवरोध गरी नष्ट गरिएको पुष्टि गरेको छ। घटनापछि मध्यपूर्वमा अमेरिका–इरानबीचको तनाव थप चुलिने संकेत देखिएको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय