शिक्षक आन्दोलन चर्किंदै गर्दा शिक्षामन्त्री भट्टराईको राजीनामा

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी छन्। उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आफ्नो राजीनामा पत्र बुझाएकी हुन्। भट्टराईले स्वास्थ्य समस्यालाई कारण देखाउँदै राजीनामा दिएको बताइएको छ।

हाल काठमाडौंमा जारी शिक्षक आन्दोलनले चर्को रुप लिएको छ। आन्दोलनरत शिक्षकहरूको माग सम्बोधन गर्न मन्त्रालयले पटकपटक वार्ताका लागि बोलाउँदा समेत उनीहरू सहभागी नभएको भन्दै मन्त्री भट्टराईले आलोचना गर्दै आएकी थिइन्। यद्यपि सोमबार उनले आन्दोलनरत शिक्षक तथा कर्मचारीका मागबारे प्रधानमन्त्री ओलीसँग छलफल पनि गरेकी थिइन्।

शिक्षकहरूले काठमाडौंमा २० दिनदेखि जारी राखेको आन्दोलनकै बीच मन्त्री भट्टराईको राजीनामा आएको हो। नेकपा (एमाले) का एक नेताका अनुसार, मन्त्री भट्टराईले स्वास्थ्य अवस्था राम्रो नहुनुका कारण केही समयदेखि राजीनामाको सोचमा थिइन्। तर हालको शिक्षक आन्दोलन र त्यसबाट उत्पन्न भएको शैक्षिक संकटका कारण थप दबाबमा परेकी थिइन्।

सरकार र शिक्षक प्रतिनिधिहरूबीच पटकपटक वार्ता भए पनि कुनै ठोस निष्कर्षमा पुग्न नसकिएको अवस्थामा शिक्षामन्त्रीको राजीनामा आएको हो। आन्दोलनरत शिक्षकहरूले शैक्षिक कार्यक्रम अवरुद्ध गर्दै माइतीघरदेखि नयाँ बानेश्वर क्षेत्रसम्म दैनिकरूपमा प्रदर्शन जारी राखेका छन्।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय