काठमाडौं । नेपाली कांग्रेस ले सभापति गगनकुमार थापा ले दिएको राजीनामा अस्वीकार गर्ने निर्णय गरेको छ।
पार्टी केन्द्रीय कार्यालयमा शुक्रबारदेखि जारी केन्द्रीय समिति बैठकले विभिन्न कारण उल्लेख गर्दै थापाको राजीनामा अस्वीकार गर्ने निष्कर्ष निकालेको हो। सो निर्णयबारे थापाकै सचिवालयले जानकारी दिएको छ।
केन्द्रीय समिति बैठकले राजीनामा बाध्यकारी नभई नैतिक र स्वेच्छिक विषय भएको उल्लेख गर्दै यसको सम्मान गर्दै अस्वीकार गर्नु उपयुक्त ठहर गरेको जनाएको छ।
बैठकले राजीनामा अस्वीकार गर्ने आधारस्वरूप निर्वाचन पराजयका प्रमुख कारणहरू संरचनागत समस्या तथा नियन्त्रणबाहिरका परिस्थितिहरू रहेको औँल्याएको छ। साथै, वर्तमान जटिल राष्ट्रिय परिस्थितिमा थापाको नेतृत्व अझ आवश्यक रहेको अनुभूति गरिएको जनाइएको छ।
त्यस्तै, राजीनामा स्वीकार गर्दा पार्टीभित्र अनावश्यक अस्थिरता, अन्योल तथा कार्यकर्ताको मनोबलमा गिरावट आउने सम्भावना रहेको भन्दै त्यसबाट जोगिन पनि अस्वीकार गर्ने निर्णय गरिएको हो।
बैठकले सामूहिक जिम्मेवारीको सिद्धान्त, पार्टी नेतृत्वको स्थायित्वको आवश्यकता, विशेष महाधिवेशनपछि सुरु गरिएको सुधार कार्यक्रम ‘कांग्रेस २.०’ को निरन्तरता तथा आगामी १५औँ महाधिवेशनतर्फ पार्टीलाई केन्द्रित गर्नुपर्ने आवश्यकतालाई समेत निर्णयका आधारका रूपमा प्रस्तुत गरेको छ।
केन्द्रीय कार्यसमितिको पूर्ण बैठकबाट उक्त निर्णय सर्वसम्मत रूपमा पारित गरिएको जनाइएको छ।