काठमाडौं जिल्ला अदालतमा बुधबार नेपाल बाल संगठन (बालमन्दिर) को जग्गा हिनामिनामा १७ जनाविरुद्ध मुद्दा दायर गरिएको छ। उक्त मुद्दामा ६० करोड ३९ लाख ७७ हजार दुई सय ७१ रुपैयाँ बिगो कायम गरिएको छ।
सुरुमा सरकारको दबाबका कारण मुद्दा नचलाउने प्रक्रिया अघि बढेको थियो, तर पछि महान्यायाधिवक्ता कार्यालयले मुद्दा चलाउने निर्णय गरेर सरकारी वकिल कार्यालयलाई सोहीअनुसार निर्देशन दिएको थियो। निर्देशन जारी भएपछि मुद्दा दायर गरिएको हो।
यस मुद्दामा उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहकी दिदी रिता सिंहलाई समेत प्रतिवादी बनाइएको छ। तर, हालसम्म कसैलाई पनि पक्राउ नगरी मुद्दा दायर गरिएको छ।
बालमन्दिरको जग्गा नियम उल्लंघन गर्दै बृहस्पति बिद्यासदनलाई लिजमा दिइएको र त्यसमार्फत संस्थालाई ठगी गरेको आरोपमा यो मुद्दा दायर गरिएको हो। यसमा सिंहसहित तुलसीनारायण श्रेष्ठ, गणेश भक्त श्रेष्ठ, कृष्णशंकर साह, श्याम कुमार आले, सुवास कुमार पोखरेल, प्रचण्डराज प्रधान, रामकाजी गुरुङ, दिपकराज श्रेष्ठ, प्रवीणराज जोशी, मुरारीनिधि तिवारी, पुरुषोत्तमराज जोशी, श्रद्धा संघाई, अभिनव सिंघानिया, सिद्धार्थ केडिया र कीर्तिप्रसाद पाण्डे विरुद्ध मुद्दा दायर गरिएको छ।