काठमाडौं । विश्व फुटबलको सबैभन्दा ठूलो महोत्सव फिफा विश्वकप २०२६ बिहीबार रातिदेखि सुरु हुँदैछ। सन् १९३० मा उरुग्वेबाट सुरु भएको विश्वकपको यात्रा ९६ वर्षपछि नयाँ उचाइमा पुगेको छ। यसपटकको संस्करण सहभागिता, खेल संख्या र आयोजक राष्ट्रका हिसाबले अहिलेसम्मकै सबैभन्दा ठूलो विश्वकप बन्ने भएको छ।
पहिलोपटक अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्न लागेको प्रतियोगितामा ४८ राष्ट्र सहभागी हुनेछन्। ३९ दिनसम्म चल्ने प्रतियोगितामा कुल १०४ खेल हुनेछन्, जुन विश्वकप इतिहासकै सबैभन्दा धेरै हो।
विश्वकपको उद्घाटन खेल मेक्सिको सिटीमा सहआयोजक मेक्सिको र दक्षिण अफ्रिकाबीच हुनेछ। उद्घाटन समारोह मेक्सिको सिटीमा आयोजना गरिनेछ भने फाइनल खेल जुलाई १९ मा अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा हुनेछ।
यसपटक उद्घाटन समारोह एउटै शहरमा सीमित नहुने विशेषता रहेको छ। मेक्सिको सिटी, क्यानाडाको टोरन्टो र अमेरिकाको लस एन्जलसमा छुट्टाछुट्टै समारोह आयोजना गरिनेछ। अन्तर्राष्ट्रिय क्रियटिभ निर्देशक मार्को बालिचको नेतृत्वमा तयार गरिएका कार्यक्रमहरूले फुटबलमार्फत विश्वलाई एकताको सन्देश दिने लक्ष्य राखेका छन्।
मेक्सिकोले आफ्नो सांस्कृतिक पहिचान ‘पापेल पिकाडो’ कलामार्फत प्रस्तुत गर्नेछ भने क्यानाडाले ‘सांस्कृतिक मोजाइक’ अर्थात् विविधतामा एकताको भावना झल्काउनेछ। अमेरिकाले आधुनिक प्रविधि र भव्य दृश्य प्रभावमार्फत आफ्नो सांस्कृतिक शक्ति प्रदर्शन गर्ने तयारी गरेको छ।
उद्घाटन समारोहमा विश्व चर्चित कलाकारहरूको प्रस्तुति रहने अपेक्षा गरिएको छ। मेक्सिकोमा शाकिरा, जे बाल्भिन र बर्ना ब्वायजस्ता कलाकारहरू देखिन सक्ने अनुमान गरिएको छ भने क्यानाडामा अलानिस मोरिसेट, माइकल बुब्ले र जेसी रेयेजलगायत कलाकारहरूको प्रस्तुति रहने सम्भावना छ। त्यसैगरी लस एन्जलसमा केटी पेरी, लिसा, रेमा र अनिट्टाजस्ता अन्तर्राष्ट्रिय कलाकारहरू सहभागी हुन सक्ने बताइएको छ।
विश्वकप २०२६ मा १६ वटा शहरले खेलहरू आयोजना गर्नेछन्। मेक्सिको सिटीस्थित ऐतिहासिक एज्टेका रंगशालाले फेरि विश्वकपको केन्द्र बन्ने अवसर पाएको छ। यसअघि यही रंगशालाले १९७० र १९८६ विश्वकपको फाइनल खेल आयोजना गरेको थियो।
सन् १९९८ यता सात संस्करणसम्म ३२ राष्ट्रले मात्र विश्वकप खेलेका थिए। तर फिफाले यसपटक टोली संख्या बढाएर ४८ पुर्याएसँगै प्रतियोगिता अझ फराकिलो र प्रतिस्पर्धात्मक बनेको छ।
विश्वकपको अर्को मुख्य आकर्षण भनेका विश्व फुटबलका सुपरस्टारहरू हुन्। Lionel Messi, Cristiano Ronaldo र Neymar जस्ता खेलाडीहरू फेरि एकपटक विश्वकप मञ्चमा देखिने सम्भावनाले समर्थकमाझ उत्साह थपिएको छ। विशेषगरी मेसी र रोनाल्डोका लागि यो अन्तिम विश्वकप हुन सक्ने अनुमान गरिएकाले प्रतियोगिताप्रति विश्वभरको चासो झन् बढेको छ।
उरुग्वेमा १३ राष्ट्रबाट सुरु भएको विश्वकप अहिले ४८ राष्ट्रसम्म विस्तार भएको छ। यसले फुटबलको विश्वव्यापी लोकप्रियता, व्यावसायिक विस्तार र अन्तर्राष्ट्रिय प्रभावलाई नयाँ उचाइमा पुर्याएको छ। विश्वकप २०२६ केवल खेल प्रतियोगिता मात्र नभई विश्व फुटबलको नयाँ युगको सुरुआतका रूपमा हेरिएको छ। Nagarik Daily