काठमाडौं–सरकारले चालु आर्थिक वर्षमा नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका स्टार्टअप उद्यमका लागि कर्जा प्रदान गर्न प्रस्ताव आह्वान गरेको छ । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले चालु आर्थिक वर्षको लागि कर्जा प्रदान गर्न प्रस्ताव माग गरेको हो ।
प्रतिष्ठानका कार्यकारी निर्देशक उमेश गुप्ताका अनुसार चालु आर्थिक वर्षमा ४ सय नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका स्टार्टअप उद्यम परियोजनालाई कर्जा प्रदान गर्ने लक्ष्य राखिएको छ । चालु आर्थिक वर्षमा कर्जा प्रदान गर्नका लागि सरकारले ७३ करोड रुपैयाँ बिनियोजन गरेको छ । यो लक्ष्यअनुसार कर्जा प्रदान गर्नका लागि बुधबार प्रतिष्ठानले परियोजना प्रस्ताव माग गरेको हो । प्रस्तावकले यो सूचना जारी भएको मितिदेखि २१ दिनभित्र तोकिएको ढाँचामा आफ्नो प्रस्ताव औद्योगिक व्यवसाय प्रतिष्ठानमा बुझाइ सक्नु पर्ने समयसीमा तोकिएको छ ।
प्रतिष्ठानका अनुसार स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि २०८० अनुसार गत् आर्थिक वर्षमा ६ सय परियोजनालाई कर्जा प्रदान गरिएको थियो । गत वर्ष भने कर्जा प्रदान गर्नका लागि १ अर्ब रुपैयाँ बिनियोजन भएको थियो ।
यस्तै आर्थिक वर्ष २०८०÷८१ मा १६५ परियोजनालाई कर्जा प्रदान गरिएको थियो । त्यो वर्ष सरकारले २५ करोड रुपैयाँ बिनियोजन गरेको थियो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि २०८१’ मार्फत एक जनालाई तीन प्रतिशत ब्याजमा अधिकतम २५ लाख रुपियाँसम्म कर्जा प्रवाह गर्न सक्ने व्यवस्था गरेको छ ।
बैङ्कले कर्जा प्रवाह गर्दा बढीमा पाँच लाखसम्मको कर्जाको हकमा एक किस्ता, १५ लाखसम्मको कर्जा दुई किस्ता र त्यसभन्दा माथिको कर्जा तीन किस्तामा प्रवाह गर्ने कार्यविधिमा उल्लेख छ । कर्जाको सुरक्षणका लागि प्रतिष्ठानले प्रवाहित कर्जाको २५ प्रतिशत रकम स्वीकृत बजेटको सीमाभित्र रही स्टार्टअप उद्यम कर्जा सुरक्षण कोषमा राख्नुपर्ने व्यवस्था रहेको छ।