चीनबाट आज ४४ लाख डोज खोप आउँदै


काठमाडौं–चीनबाट आज ४४ लाख डोज कोरोनाविरुद्धको भेरोसेल खोप आउने आउँदैछ । खरिद गरेको ६० लाखमध्ये आउन बाँकी रहेको खोप शुक्रबार आउन लागेको हो ।  एकैपटकमा यति ठूलो संख्यामा खोप आउन थालेको पहिलोपटक हो । यसअघि प्रतिभायल दुई डोजका दरले खोप आएकाले आठ लाखभन्दा बढी ल्याउन सकेको थिएन । 


तर, यसपटक एक भायलमा पाँच डोज भएकाले एकैपटकमा ४४ लाख ल्याउन सम्भव देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । खोप शाखा प्रमुख सागर दाहालका अनुसार आगामी ४ असोजबाट खोप लगाउन सुरु गरिनेछ । यसका लागि शुक्रबारदेखि प्रदेश स्टोरमा वितरण हुनेछ । प्रदेशले जिल्ला र स्थानीय तहमा पठाएपछि खोप सुरु हुनेछ । ‘स्वास्थ्य मन्त्रालयले खोप उपलब्धताका आधारमा १८ वर्षमाथि ५० वर्षसम्मकालाई लगाउनेछ,’ दाहालले भने, ‘हिमाली १० जिल्लाका भने १८ वर्षमाथिका सबै नागरिकलाई खोप लगाइनेछ ।’


स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. आरपी बिच्छाले यो चरणमा २३ लाख नागरिकलाई खोप लगाउने बताए । सरकारले आगामी दसैँसम्म ३३ प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य लिएको बताएको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले हालसम्म १९ प्रतिशत नागरिकले खोप पाइसकेको र दसैँसम्म ३३ प्रतिशतलाई लगाउने लक्ष्य सरकारको भएको बताए । सरकारले १८ वर्षभन्दा माथिका दुई करोड १७ लाख नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य लिएको छ । 


नेपालमा यसअघि २४ लाख ४८ हजार डोज कोभिसिल्ड, ७४ लाख डोज भेरोसेल, १६ लाख डोज जोन्सन एन्ड जोन्सन, १७ लाख ७७ हजार ३२० डोज एस्ट्राजेनेका खोप आइसकेको छ । नेपालमा हालसम्म १७ प्रतिशतले कोभिडविरुद्धको पूर्ण खोप र १९ प्रतिशतले पहिलो मात्रा खोप पाइसकेका छन् । सरकारले मोडर्ना र फाइजर खोप आयातका लागि आपत्कालीन अनुमति दिएको छ । औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले देशको संवेदनशीलतालाई हेरेर दुई खोपको नेपालमा प्रयोग गर्न आपत्कालीन अनुमति दिएको बताए । दुवै अमेरिकी खोप हुन् ।  त्यसैबीच, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई समेत कोरोनाविरुद्धको खोप दिने भन्दै मोडर्ना र फाइजर खरिद गर्ने भएको छ । सरकारले ४० लाख मोडर्ना र ४० लाख फाइजर खरिदका लागि सम्झौता प्रक्रिया अगाडि बढाएको छ । 

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाअन्तर्गतको खोप शाखा प्रमुख सागर दाहालले ४० लाख फाइजर खोपको खरिद सम्झौता भएको र ४० लाख मोडर्ना खोप कोभ्याक्स सुविधामार्फत सम्भौता भएको बताए । उनका अनुसार खोपको मूल्य भने यकिन भएको छैन । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलका अनुसार पुस–माघभित्र फाइजर र मोडर्ना खोप आइपुग्ने बताए । 


फाइजर र मोडर्ना खोप ल्याउने प्रक्रियासँगै सरकारले सातै प्रदेशमा खोप भण्डार संरचना निर्माण गर्न थालेको छ । फाइजरका लागि माइनस ७० (अल्ट्रा कोल्ड चेन) डिग्री तापक्रम र मोडर्नाका लागि माइनस २० डिग्री तापक्रममा भण्डारण गर्नुपर्ने हुन्छ ।  यसबाहेक फाइजर र मोडर्ना भ्याक्सिन राख्नका लागि अमेरिकाबाट राष्ट्रिय आविष्कार केन्द्रलाई चारवटा फ्रिजर उपलब्ध भएको छ । कोरोनाको सहयोगार्थ भनेर अमेरिकामा रहेका नेपालीले संकलन गरेको रकमबाट किनेर फ्रिजर पठाएका हुन् । सहजै फाइजर र मोडर्नाका भ्याक्सिन देशभर पु¥याउन सहज होस् भनेर यस्ता फ्रिजर उपलब्ध गराएको अमेरिकास्थित राष्ट्रिय आविष्कार केन्द्रका अभियन्ता डा. सन्तोष सापकोटाले बताए ।
 

प्रतिक्रिया