स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिन ४० अर्ब बजेट आवश्यक छ : मन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिन आगामी आर्थिक वर्षको बजेटमा कम्तीमा ४० अर्ब रुपैयाँ विनियोजन गर्न आवश्यकता जनाएका छन्।

सोमबार प्रदेश सरकारहरूसँगको छलफलमा मन्त्री पौडेलले गत आर्थिक वर्षमा साढे सात अर्ब मात्र बजेट छुट्याइए पनि यो रकम अपर्याप्त रहेको बताए। उनका अनुसार, त्यतिबेला अस्पतालहरूले बीमा बोर्डबाट पाउनुपर्ने वक्यौता १६ अर्ब रहेको थियो।

"वक्यौता तिर्नेगरी बजेट विनियोजन नहुने हो भने बीमा कसरी चल्छ?" उनले प्रश्न उठाए। चालु आर्थिक वर्षमा महिनाको २ अर्ब र वार्षिक २४ अर्ब खर्च हुने अनुमान छ भने गत वर्षको १३ अर्ब बाँकी वक्यौता समेत जोड्दा कुल ३७ अर्ब पुग्छ। बीमा बोर्डको सञ्चालन खर्च समेटेर ४० अर्ब आवश्यक रहेको उनले जोड दिए।

मन्त्री पौडेलले भने, "यो वर्ष ४० अर्ब विनियोजन नगरिए स्वास्थ्य बीमा चलाउन असम्भव हुनेछ। सरकारी लगानी र नागरिकको योगदानबाट मात्र यो प्रणाली सञ्चालन गर्न सकिनेछ।"

प्रतिक्रिया