विद्युत् क्षेत्रमा भारतसँग ऐतिहासिक सहमति

काठमाडौं – भारतले पहिलोपटक नेपालमा जगेडा बिजुली भएकोमा बधाइ दिंदै ती बिजुली आफूले खरिद गर्ने घोषणा गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाबीच भएको औपचारिक वार्तापछि आयोजित कार्यक्रममा घोषणा गरे, ‘हामी नेपालको बिजुली खरिद गर्नेछौं ।’

यो घोषणालाई संयुक्त विज्ञप्तिमा पनि समेटिएको छ । संयुक्त विज्ञप्तिभित्र रहेको ‘संयुक्त भिजन स्टेटमेन्ट’ मा पनि भारतले नेपालको बिजुली खरिद गर्ने उल्लेख छ । भिजन स्टेटमेन्ट बुँदामा परेको यो विषयलाई भारतीय विद्युत् मन्त्री र नेपालको ऊर्जा मन्त्रीबीच साइडलाइनमा छलफल पनि भएको प्रधानमन्त्री देउवाको भारत भ्रमणमा सहभागी ऊर्जा मन्त्रालयका एक अधिकारीले जानकारी दिए । ‘भारतीय विद्युत् मन्त्री राजकुमार सिंहले नेपालको आगामी जगेडा बिजुली खरिद गर्न प्रक्रिया अघि बढाइदिने हाम्रो ऊर्जामन्त्री पम्फा भुसाललाई भनिसक्नु भएको छ,’ ती अधिकारीले शनिबार टेलिफोनमा इकागजसँग भने ।

यसअघि भारतले आफूले बनाएको त्रिशुली र देवीघाट (जम्मा ३९ मेगावाट) मात्र खरिद गर्दै आएको थियो । यसबाहेक नेपालले माथिल्लो तामाकोसी (४५६ मेगावाट), भोटेकोसी (४५ मेगावाट) लगायतका ७ सय मेगावाटका आयोजनाको सूचीसहित भारतीय विद्युत मन्त्रालयलाई प्रस्ताव गरेको थियो । भारतीय प्रधानमन्त्री मोदीसँग भएको सहमतिअनुसार अब आगामी दिनमा नेपालमा हुने जगेडा बिजुलीले भारतमा निर्वाध प्रवेश पाउने भएको छ । ‘भारतीय प्रधानमन्त्रीले नै पहिलोपटक भन्नुभयो कि भारत नेपालको बिजुली खरिद गर्छ भनेर,’ ती अधिकारी भन्छन्, ‘यो स्वीकार्यता नेपालको लागि ठूलो उपलब्धि हो ।’

भारतले पहिलोपटक नेपालसँग जलस्रोत र जलविद्युत्का मामिलामा ‘नेगोसिएसन’ (वार्ता) गर्दा ‘आपसी समानता र आपसी सम्मानका आधारमा’ गर्ने भएको छ । त्यसैगरी भिजन स्टेटमेन्टमा दुई देशबीचको ऊर्जा सहकार्य बीबीआइएन (भुटान, बंगलादेश, भारत र नेपाल) संरचना तहसम्म विस्तार गर्ने उल्लेख छ । यो भनेको नेपालले बंगलादेशसम्म आफ्नो बिजुली बिक्री गर्न पाउनु हो । नेपालले यो अवधारणालाई निकै महत्व दिंदै आएको थियो । भारतकै असहयोगका कारण बंगलादेशसम्म नेपालले बिजुली निर्यात गर्न पाएको थिएन । तर यसपालि भारतले प्रष्ट रुपमा यही संरचना उपयोग गर्ने सहमति गरेपछि नेपाल निकै आशावादी भएको ऊर्जाका ती अधिकारीले बताए । 

‘हाम्रो लागि बीबीआइएन नै हो । बंगलादेश यसमा पर्छ । बीबीआइको तहसम्म जुन भिजन स्टेटमेन्टमा आयो त्यो राम्रो हो, सार्क, सासेक र बिमस्टेकभन्दा पनि महत्वपूर्ण बीबीआइएन हो,’ उनले भने । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय