काठमाडौँ । रुपन्देहीमा सञ्चालित चार उद्योगले नेपाल विद्युत प्राधिकरणलाई डेडिकेटेड तथा ट्रंकलाइनमार्फत लिएको बिजुलीको बक्यौता रकमको पहिलो किस्ता तिरेका छन्।
भैरहवा क्षेत्रमा रहेका पञ्चकन्या प्लास्टिक उद्योग, पञ्चकन्या स्टिल इन्डस्ट्रीज, सिद्धार्थ पेटप्लान्ट र श्याम प्लास्टिक उद्योगले सोमबार प्रिमियम महसुल बापतको पहिलो किस्ता बुझाएका हुन्।
प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार पहिलो किस्ता बुझाएपछि उद्योगहरूको विच्छेद गरिएको विद्युत लाइन पुनः जडान गरिएको छ। यी उद्योगहरूले सन् २०१६ (२०७२ माघ) देखि २०१८ (२०७५ वैशाख) सम्मको डेडिकेटेड तथा ट्रंकलाइन प्रयोगबापतको बक्यौता बुझाएका हुन्।
पञ्चकन्या प्लास्टिक उद्योगले २४ लाख ६३ हजार, पञ्चकन्या स्टिल इन्डस्ट्रीजले ५२ लाख १९ हजार, सिद्धार्थ पेटप्लान्टले १ करोड ८३ लाख र श्याम प्लास्टिकले ४९ लाख १० हजार रुपैयाँ तिरेका छन्।
बक्यौतालाई प्राधिकरणले २८ किस्तामा विभाजन गरेको र उद्योगहरूले पहिलो किस्ता बुझाइसकेपछि बाँकी किस्ता क्रमशः तिर्ने तयारी गरेको प्राधिकरणले जनाएको छ।