सुनसरीको इटहरीस्थित सेन्टर प्लाजामा अचानक भएको भीषण आगलागीमा फसेका ११ जनालाई सकुशल उद्धार गरिएको छ। सुनसरीका प्रमुख जिल्ला अधिकारी धमेन्द्र मिश्रका अनुसार उद्धार गरिएकामध्ये ८ जना पुरुष र ३ जना महिला रहेका छन्। नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले संयुक्त रूपमा डोरीको सहायताले उनीहरूको उद्धार गरेको हो।
मंगलबार बिहान करिब ११ बजे भवनको तल्लो भागबाट आगो फैलिएको बताइएको छ। आगलागीको खबर पाउनासाथ स्थानीय बासिन्दा, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना तत्कालै उद्धार तथा आगो नियन्त्रणको प्रयासमा जुटेका थिए। आगोको कारण भने अहिलेसम्म पुष्टि भएको छैन।
उद्धार कार्यलाई थप प्रभावकारी बनाउन नेपाली सेनाले हेलिकोप्टर परिचालन गरेको गृह मन्त्रालयले जनाएको छ। हेलिकोप्टरमार्फत आगो निभाउने प्रयास भइरहेको छ भने थप उद्धार कार्यलाई सहज बनाउन सुरक्षा संयन्त्रहरू परिचालित छन्।
स्थानीय प्रत्यक्षदर्शीहरूका अनुसार आगो तीव्र रूपमा फैलिएको थियो, जसका कारण भवनभित्र रहेका व्यक्तिहरू बाहिर निस्कन सकेका थिएनन्। सुरक्षाकर्मीहरूको सक्रियताका कारण उनीहरूको सकुशल उद्धार सम्भव भएको हो।
आगलागी नियन्त्रणका लागि दमकलहरू पनि परिचालित भएका छन्। सुनसरीको दमकल मात्र नभई आसपासका जिल्लाहरूबाट पनि दमकल बोलाइएकाले आगो नियन्त्रणमा लिने कार्य तीव्र पारिएको छ। यद्यपि आगलागीका कारण भएको क्षतिको विस्तृत विवरण आउन बाँकी छ। सुरक्षाकर्मीहरू अहिले पनि घटनास्थलमा खटिएका छन्, र आगलागीको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको छ।