काठमाडौं–आर्थिक वर्ष २०७९÷८० मा नेपालमा लगानी गरेवापत् विदेशी कम्पनीहरूले साढे १७ अर्ब रुपैयाँ लाभांश फिर्ता लिएका छन् । नेपाल राष्ट्र बैंकले प्रत्यक्ष विदेशी लगानी सम्बन्धि गरेको एक सर्वेक्षणका अनुसार विदेशी कम्पनीहरूले आर्थिक वर्ष २०७९÷८० मा १७ अर्ब ३३ करोड ४७ लाख रुपैयाँ बराबर लाभांशका रूपमा विदेश लिएका हुन् ।
आर्थिक वर्ष २०७९÷८० मा उत्पादनमुलक क्षेत्रमा लगानी गरेवापत बढी लाभांश फिर्ता लिएको देखिएको छ । विदेशी कम्पनीहरूले नेपालमा लगानी गरेवापत् उत्पादनमुलक क्षेत्रबाट ८ अर्ब ८४ करोड ७६ लाख रुपैयाँ लाभांशका रुपमा फिर्ता लिएका हुन् । सोही वर्ष सूचना प्रविधि क्षेत्रमा लगानी गरेवापत ३ अर्ब ६७ करोड ३५ लाख रुपैयाँ लाभांशका रुपमा फिर्ता लिएका हुन् । यस्तै बैंक तथा बीमा सेवा क्षेत्रबाट ३ अर्ब ५० करोड रुपैयाँ, विद्युतीय उपकरणमा लगानी गरेवापत् १३ करोड रुपैया, खाद्य क्षेत्रबाट २ करोड २८ लाख रुपैयाँ, स्वास्थ्य तथा सामाजिक क्षेत्रबाट २८ लाख रुपैयाँ, यातायात तथा भण्डारण क्षेत्रबाट ४ करोड २९ लाख रुपैयाँ र अन्य क्षेत्रबाट १ अर्ब ११ करोड रुपैयाँ विदेशी कम्पनीहरूले लाभांश लिएको राष्ट्र बैंकको तथ्यांक छ ।
यस्तै आर्थिक वर्ष २०७८÷७९ मा नेपालमा लगानी गरेका विदेशी कम्पनीहरूले कुल १५ अर्ब ६७ करोड ५२ लाख रुपैयाँ लाभांश फिर्ता लिएका थिए । सो वर्ष सबैभन्दा उत्पादलनमुलक क्षेत्रबाट लाभांश बढी बाहिरिएको थियो । उत्पादनमुलक क्षेत्रमार्फत् सो वर्ष ७ अर्ब ३१ करोड रुपैयाँ बाहिरिएको थियो । यस्तै, आर्थिक वर्ष २०७७÷७८ मा नेपालमा लगानी गरेका विदेशी कम्पनीहरुले कुल २६ अर्ब ७ करोड ६६ लाख रुपैयाँ लाभांश फिर्ता लिएका थिए ।