“सुशासन र सत्ता हस्तान्तरण मेरो प्राथमिकता हो” – प्रधानमन्त्री सुशीला कार्की

काठमाडौँ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलहरूलाई निषेध नगरी उनीहरूको सहभागितासहित आगामी फागुन २१ गते निर्वाचन सम्पन्न गरी सत्ता हस्तान्तरण गर्ने आफ्नो योजना भएको बताएकी छन्।

 

शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै उनले दलहरूलाई निषेध गर्ने वा उनीहरू विहीन बनाउने होइन, सुशासन र स्थायित्व कायम गर्दै निर्वाचन सम्पन्न गर्न सरकार केन्द्रित रहेको बताइन्। उनले सबै पक्षसँग संवाद र सहकार्यको आवश्यकता रहेको उल्लेख गर्दै सहयोगका लागि अपिल पनि गरिन्।

 

प्रधानमन्त्री कार्कीले जेन–जी आन्दोलनका माग, भ्रष्टाचार नियन्त्रण, र मन्त्रिपरिषद् विस्तारजस्ता चुनौतीहरूका बीच पनि सरकार निरन्तर काममा लागेको बताइन्। “दलहरूसँग संवाद भइरहेको छ, निर्वाचनतर्फ सकारात्मक वातावरण बन्दै गएको छ,” उनले भनिन्।

 

उनका अनुसार प्रधानमन्त्री बनेपछि जेन–जी समूहबाट समेत राजीनामाको माग र आलोचना झेल्नुपरेको थियो। “आलोचना सामान्य कुरा हो, तर म त्यसले विचलित हुने मान्छे होइन,” उनले भनिन्।

 

कार्कीले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुनुमा विभिन्न जेन–जी समूहबीचको मतभेद कारण रहेको स्पष्ट पारिन्। उनले श्रम मन्त्रीका रूपमा सिफारिस भएका खगेन्द्र सुनार र बब्लु गुप्ताको विषयमा आएको विवाद स्वीकार गर्दै गल्ती सुधारिएको बताइन्।

 

प्रधानमन्त्रीले आफू र मन्त्रीहरू चुनाव नलड्ने र सफलतापूर्वक निर्वाचन सम्पन्न गरी जिम्मेवारी हस्तान्तरण गर्ने तयारीमा रहेको जानकारी दिइन्। छिमेकी मुलुकबाट निर्वाचनका लागि सवारी साधन सहयोगको आश्वासन आएको पनि उनले बताइन्।

 

राजदूत फिर्ता बोलाउने निर्णयबारे प्रश्न सोधिँदा उनले आर्थिक अनियमितता र उजुरीका आधारमा मात्रै निर्णय गरिएको बताइन्। “सबै देशका राजदूतहरू होइन, जसका बारेमा गुनासा थिए ती मात्र फिर्ता बोलाइएका हुन्,” उनले भनिन्।

 

प्रधानमन्त्री कार्कीले कानुनी शासन र सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको पुनः दोहोर्याइन्।

प्रतिक्रिया