काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएपछि देशभरका अधिकांश निजी पेट्रोलपम्प बन्द भएका छन्। सरकारले मंगलबार रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ, डिजेलमा ३० रुपैयाँ तथा एलपी ग्यासमा प्रतिसिलिन्डर १०० रुपैयाँ मूल्य घटाएको थियो। तर निजी पेट्रोलपम्प सञ्चालकहरूले घटेको मूल्यमा बिक्री गर्न अस्वीकार गर्दै सेवा बन्द गरेका हुन्।
निजी पम्पहरू बन्द भएपछि साझा, नेपाल प्रहरी तथा नेपाली सेनाद्वारा सञ्चालित पेट्रोलपम्पहरूमा सवारीसाधनको लाम लागेको छ। मूल्य घट्नु अघि ठूलो परिमाणमा इन्धन भण्डारण गरेका निजी पम्प सञ्चालकहरूले घाटा हुने भन्दै निगमबाट नयाँ इन्धन नउठाएको स्रोतले जनाएको छ।
हालै इरानमाथि अमेरिका र इजरायलको आक्रमण तथा त्यसपछि उत्पन्न तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढेको थियो। इरानले स्ट्रेट अफ हर्मुज बन्द गरेपछि कच्चा तेलको मूल्य प्रतिब्यारेल १२० डलरमाथि पुगेको थियो। तर युद्धविराम र क्षेत्रीय तनाव कम भएसँगै अन्तर्राष्ट्रिय बजारमा मूल्य पुनः घटेर युद्धअघिकै अवस्थामा फर्किएको छ।
उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले मूल्य बढ्ने संकेत पाउनेबित्तिकै इन्धन भण्डारण गर्ने र मूल्य घट्नेबित्तिकै बिक्री रोक्ने प्रवृत्ति उपभोक्तामाथिको गम्भीर अन्याय भएको बताएका छन्। उनले अन्तर्राष्ट्रिय बजारअनुसार मूल्य समायोजन गर्न र दोषी पेट्रोलपम्प सञ्चालकमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेका छन्।
यता उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले निजी पेट्रोलपम्पहरूको गतिविधिमाथि अनुगमन सुरु गरेको छ। मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीका अनुसार घटेको मूल्यमा इन्धन बिक्री नगरी सेवा बन्द गर्ने पम्प सञ्चालकमाथि कानुनअनुसार कडा कारबाही गरिनेछ।
उनले जनतालाई सहुलियत मूल्यमा इन्धन उपलब्ध गराउनु सबै सेवा प्रदायकको दायित्व भएकाले मूल्य समायोजन कार्यान्वयन नगर्ने पम्पहरूलाई भविष्यमा यस्तो कार्य दोहोरिन नदिने गरी कारबाही गरिने बताए। मन्त्रालयले बेलुकासम्म अधिकांश समस्या समाधान हुने विश्वास व्यक्त गरेको छ।