काभ्रेपलाञ्चोक — विपी राजमार्गमा आजदेखि रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लगातार वर्षा र बाढी–पहिरोको उच्च सम्भावना देखिएको भन्दै यस्तो निर्णय गरिएको हो।
जिल्ला विपद् व्यवस्थापन समिति काभ्रेपलाञ्चोकको बैठकले असोज २१ गते रातिसम्मका लागि अत्यावश्यक बाहेकका सवारी साधनलाई साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन नगर्ने निर्णय गरेको हो। समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी उमेश ढकालका अनुसार धुलिखेलको काभ्रेभञ्ज्याङदेखि सिन्धुलीसीमा नेपालथोकसम्मको सडकखण्डमा रातिको अवधिमा सवारी सञ्चालन रोक लगाइने छ।
यसअघि पनि गत भदौ १६ गतेदेखि १५ दिनसम्म मनसुनका कारण विपी राजमार्गमा आवागमनमा प्रतिबन्ध लगाइएको थियो। हाल फेरि मनसुन सक्रिय रहेकाले राजमार्गमा बाढी–पहिरोको जोखिम उच्च भएकाले सतर्क रहन समिति र प्राधिकरणले सार्वजनिक अपिल गरेका छन्।
काठमाडौँतर्फ जाने सवारीलाई सिन्धुलीको नेपालथोकमै रोक लगाइने र काठमाडौँबाट बाहिरिने सवारीलाई काभ्रेभञ्ज्याङमै रोक लगाइने व्यवस्था गरिएको छ। यसअघि पनि काभ्रेपलाञ्चोक, सिन्धुली र रामेछाप जिल्लाका सुरक्षा समितिहरूको समन्वयमा रातिको समयमा यातायात बन्द गर्ने निर्णय गरिएको थियो।
गत वर्ष असोजमा राजमार्गको चौकीडाँडादेखि सिन्धुलीको बर्षेखोलासम्मको करिब आठ किलोमिटर सडक बाढी–पहिरोले बगाएको थियो। कुल १६० किलोमिटर लामो राजमार्गमध्ये सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्म ३४ किलोमिटर र नेपालथोकदेखि धुलिखेलसम्म ५० किलोमिटर गरी करिब ८४ किलोमिटर सडक विभिन्न स्थानमा गम्भीर क्षति पुगेको थियो।