काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चालु आर्थिक वर्षमा मन्त्रालयको पुँजीगत खर्च वृद्धि गर्न कर्मचारीहरूलाई निर्देशन दिएका छन्। सोमबार मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०८०/८१ को कार्य प्रगतिबारे समीक्षा कार्यक्रममा मन्त्री गुरुङले मन्त्रालयअन्तर्गतका सबै निकाय र विभागमा ९० प्रतिशतभन्दा बढी पुँजीगत खर्च गर्न निर्देशन दिएका हुन्।
उनले पुँजीगत खर्चमा देखिएको कमीलाई मुख्य चुनौतीको रूपमा उल्लेख गर्दै विकासको सम्भावना कम हुने चेतावनी दिए। "जुन देशमा पुँजीगत खर्च गर्न सकिँदैन, त्यस्तो देशमा विकासको सम्भावना कम हुन्छ," मन्त्री गुरुङले भने, "यो वर्ष हामीले खर्च गर्ने क्षमता बढाउँछौँ।"
मन्त्री गुरुङले विकासमा अवरोधका रूपमा पुराना ऐन, कानुन र नीतिहरू रहेको बताए। साथै, आवश्यकताभन्दा बढी कर्मचारी भर्ना गर्नुले पनि कार्यप्रगतिमा बाधा पुर्याएको उनले उल्लेख गरे।
कार्यक्रममा, उनले सेवामा खटिने कर्मचारीलाई प्रोत्साहन गर्न र अनावश्यक निकायहरू कटौती गर्न जोड दिए। प्रगति विवरण सुनेपछि मन्त्री गुरुङले मन्त्रालयअन्तर्गतका निकाय र विभागीय प्रतिनिधिहरूलाई राजस्व वृद्धि गर्नेतर्फ ध्यान दिन निर्देशन पनि दिए।