नन्दन यादवको डेब्युमा चमक, नेपालको सानदार जित

स्कटल्यान्डमा जारी आइसीसी लिग २ अन्तर्गत नेपालले नेदरल्यान्ड्समाथि १६ रनको जित हात पारेको छ। मंगलबार डुन्डीमा भएको खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै ५० ओभरमा ९ विकेट गुमाएर २३६ रन बनाएको थियो। नेपाललाई पेनाल्टीस्वरूप १० रन कटौती गरिएकाले नेदरल्यान्ड्सलाई २२७ रनको लक्ष्य दिइएको थियो। जवाफी ब्याटिङमा नेदरल्यान्ड्सको टोली ४९.२ ओभरमा २२० रनमा अलआउट हुँदै हार व्यहोर्न बाध्य भयो।

नेपालका लागि डेब्यु खेलिरहेका नन्दन यादवले प्रभावशाली प्रदर्शन गर्दै ३ विकेट लिए भने अनुभवी लेग स्पिनर सन्दीप लामिछानेले पनि ३ विकेट हात पारे। ललित राजवंशीले २ विकेट र कुशल भुर्तेल तथा करण केसीले १-१ विकेट लिए। नेपालका लागि आरिफ शेखले सर्वाधिक ८४ रनको योगदान दिए। उनले मिडल अर्डर सम्हाल्दै ७ चौका र २ छक्कासहित ८५ बलमा यो पारी खेले। कप्तान रोहित पौडेल र भीम सार्कीले समान ३५/३५ रन जोड्दै तेस्रो विकेटका लागि ५१ रनको साझेदारी गरेका थिए।

पावरप्लेमा नेपालले सुरुवातमै दुवै ओपनर गुमाएको थियो भने बाँकी ब्याटरमध्ये दीपेन्द्र सिंह ऐरीले १६ रन, बसिर अहमद र करण केसीले समान ११-११ रन जोडे। नेदरल्यान्ड्सका बलरमध्ये पल भान मिकरानले ४ विकेट लिए। मिचेल लेभिटले ३ र आर्यन दत्तले १ विकेट लिए।

नेदरल्यान्ड्सको जवाफी पारीमा विस्ले वारेसीले सबैभन्दा बढी ३६ रन बनाए। कप्तान स्कट इड्वार्डले ३०, मिचेल लेभिटले २७, केल केलिनले २५, नोरा क्रसले २२, तेजा निदामानुरुले १७ र मान डेरले १६ रन बनाए पनि अन्य ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्।

यसअघि नेपालले स्कटल्यान्डविरुद्ध पहिलो खेलमा १ विकेटको रोमाञ्चक जित हात पारेको थियो भने दोस्रो खेलमा नेदरल्यान्ड्सलाई ५ विकेटले हराएको थियो। तेस्रो खेलमा नेपाल २ रनले स्कटल्यान्डसँग पराजित भएको थियो। चौथो र अन्तिम खेलमा पुनः जित निकाल्दै नेपालले श्रृंखला सुखद ढंगमा समाप्त गरेको छ।

प्रतिक्रिया