बागलुङमा स्कुल भ्यान ६० मिटर तल खस्यो, २३ विद्यार्थी घाइते

बागलुङ नगरपालिका–४ को पाखाथर क्षेत्रमा विद्यालयका विद्यार्थी बोकेको स्कुल भ्यान दुर्घटना हुँदा २३ जना विद्यार्थी घाइते भएका छन्। बिहीबार साँझ करिब ४ः३० बजे न्यू एभरेष्ट बोडिङ स्कुलको ग १ च ८६२१ नम्बरको भ्यान सडकबाट करिब ६० मिटर तल घुम्तीमा खसेको हो।

दुर्घटनापछि घाइते सबै विद्यार्थीलाई धौलागिरि अस्पताल बागलुङमा उपचारका लागि लगिएको छ। तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। भ्यानमा कति जना सवार थिए भन्नेबारे यकिन विवरण अझै खुलेको छैन।

घटनास्थलमा प्रहरी उपरीक्षक तीलक भारती र प्रहरी नायब उपरीक्षक बसन्त पाण्डेको टोली खटिएर उद्धार तथा अनुसन्धान कार्य गरिरहेको छ। अस्पताल परिसरमा अभिभावकको भीड लागेको छ भने सुरक्षाको व्यवस्था कडा बनाइएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया