बैंकहरुको ब्याजदर निरन्तर घट्दै, आधार दर ७.९२ प्रतिशतमा सीमित

काठमाडौं: बैंकहरूको ब्याजदर निरन्तर घट्दो क्रममा छ। पछिल्लो महिनामा वाणिज्य बैंकहरूको औसत आधार दर (बेस रेट) ०.२५ प्रतिशतले घटेको छ। साउन महिनाको तुलनामा भदौमा औसतमा आधार दर ७.९२ प्रतिशतमा झरेको हो। यसअघि साउनमा २० वाणिज्य बैंकहरूको औसत आधार दर ८.१६ प्रतिशत थियो।

यस अवधिमा सबैभन्दा कम स्टान्डर्ड चार्टर्ड बैंकको आधार दर ६.२२ प्रतिशत रहेको छ भने राष्ट्रिय वाणिज्य बैंकको आधार दर ६.६६ प्रतिशत छ। अरू १० बैंकको आधार दर ८ प्रतिशतभन्दा कम छ, जहाँ एनआईसी एसिया बैंकको आधार दर सबैभन्दा उच्च ९.२२ प्रतिशत छ।

ब्याजदर बेस रेटसँग प्रत्यक्ष रूपमा सम्बन्धित हुन्छ, किनकि बैंकहरूले बेस रेटमा निश्चित प्रिमियम थपेर ब्याजदर निर्धारण गर्छन्। बेस रेट सस्तो हुँदा कर्जाको ब्याजदर पनि सस्तो हुन्छ, जसले ऋणीलाई राहत मिल्छ।

हाल वाणिज्य बैंकहरूको आधार दर घट्दै आइरहे पनि कर्जा विस्तार भने हुन सकेको छैन। आर्थिक मन्दी र अन्य कारणहरूले गर्दा नयाँ कर्जा लिनेहरूको कमी देखिएको छ। कर्जा लिएका धेरैले साँवा-ब्याज तिर्नसमेत नसक्ने अवस्थामा पुगेका छन्, जसका कारण वित्तीय प्रणालीमा पर्याप्त तरलता रहे पनि कर्जा विस्तार अपेक्षाअनुसार हुन सकेको छैन।

तर ब्याजदर घट्दै गइरहेको र केन्द्रीय बैंकले पनि सहज नीति लिँदै गएकाले विस्तारै कर्जा प्रवाह हुने संकेत देखिएको बैंकरहरूको भनाइ छ।

प्रतिक्रिया