काठमाडौँ - देश विकास गर्न त्यो देशको शेयर बजार पनि मजबुद हुनु पर्छ । किन कि पूँजीको प्राथमिक स्रोत नै शेयर बजार हो । तर हाम्रो देशमा भने सरकारलाई शेयर बजारको कुनै मतलब नै नभएको जस्तो देखिएको छ ।
शेयर बजारको विकास र नियमनको काम गर्ने २ तालुकदार निकाय प्रमुख विहिन भएको अहिले ६ महिना हुन लागेको छ तर नयाँ चयनको विषयमा भने सरकार आलटाल गर्दै आएको छ ।
अर्थमन्त्रालयले २ साता पहिले नेप्से प्रमुख नियुक्त गर्ने फाइल तयार पारे पनि त्यो मन्त्रिपरिषदमा अलपत्र परेको छ । केही मिडियामा आएको सूचना अनुसार अर्थमन्त्री र देउवाको स्वार्थ नमिलेका कारण नियुक्ति रोकिएको हो ।
लगानीकर्ताको लागि बोल्दै आउनु भएका स्वतन्त्र पूँजी बजार संघका अध्यक्ष रोहन कार्की पनि सरकारको यो ढिलासुस्ती प्रति सन्तुष्ट हुनुहुन्न । उहाँले आर्थिक सन्देशसँग कुरा गर्दै यसरी ढिलो हुनु समग्र शेयर बजारको विकासको लागि राम्रो नभएको साथै आफूहरु फेरि अर्थमन्त्रालय,धितोपत्र वोर्ड र नेप्सेमा दबाब दिन तयारीमा रहेको बताउनु भयो । "म व्यक्तिगत रुपमा र सांगठनिक रुपमा पनि यो विषयमा कुरा उठाउने तयारीमा रहेको छु, अर्थमन्त्रीले हामीलाई दिनु भएको प्रतिबद्धता अनुसार काम गर्नु भएन" उहाँको भनाइ छ ।
त्यस्तै शेयर बजारका जानकार निर पाण्डे पनि सरकारले यस्ता कुरामा बेवास्ता गर्नु राम्रो नभएको साथै छिटो समस्या समाधान गर्नुको विकल्प नभएको विचार राख्नु हुन्छ ।
नेपालमा अहिले करिब आधा करोड प्राथमिक लगानीकर्ता र दश लाख हाराहारीमा सक्रिय लगानीकर्ता रहेको अनुमान गरिन्छ । यति ठूलो जनसंख्याको चासोको विषय र अर्थतन्त्रको मेरुदण्डलाइ सरकारले गरेको बेवास्ताले जनमानसमा पनि आक्रोस बढ्दै गइरहेको छ ।
नियामक निकायमा प्रमुख नहुँदा नीतिगत र सुधारका काम हुन सकेका छैनन् भने नियमन पनि भइरहेको छैन । धितोपत्र बोर्डमा पाइपलाइन रहेका आइपीओ समेत समयमा निष्कासन हुन सकेका छैन ।