अमेरिकी प्रशासनका अनुसार पानामाको झण्डा बोकेको एक तेल ट्यांकरमाथि इरानले आक्रमण गरेपछि त्यसको जवाफस्वरूप अमेरिकी सेनाले इरानका विभिन्न सैन्य संरचनालाई लक्षित गरी कारबाही गरेको हो। अमेरिकी सेनाले इरानका मिसाइल तथा ड्रोन भण्डारण केन्द्र, सञ्चार पूर्वाधार र राडार प्रणालीमाथि आक्रमण गरेको जनाएको छ।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत युद्धविराम सम्झौता पुनः उल्लंघन भएको दाबी गर्दै अमेरिकी लडाकु विमानहरूले इरानका रणनीतिक सैन्य लक्ष्यमा आक्रमण गरेको बताएका छन्। उनले इरानले पटक–पटक सम्झौता उल्लंघन गरिरहेको आरोप लगाएका छन्।
ट्रम्पले इरानले आफ्नो व्यवहार नसुधारे अमेरिका थप कडा कदम चाल्न बाध्य हुने चेतावनी पनि दिएका छन्। उनले आवश्यक परे अमेरिकाले सुरु गरेको सैन्य अभियानलाई पूर्णता दिन बल प्रयोग गर्न सक्ने संकेत गरेका छन्।
उनले युद्धविराम उल्लंघन निरन्तर जारी रहे इस्लामिक गणतन्त्र इरानको अस्तित्व नै संकटमा पर्न सक्ने दाबी गर्दै भनेका छन्, “यदि यस्तो अवस्था आयो भने इस्लामिक गणतन्त्र इरानको अस्तित्व रहने छैन।”