Symbolic photo
काठमाडौं । काठमाडौंको कीर्तिपुरमा चम्पादेवी केबलकार निर्माण हुने भएको छ। चम्पादेवी इको फ्रेण्डली कम्पनी प्रालिले कीर्तिपुर नगरपालिका–४ र दक्षिणकाली नगरपालिका–१ मा केबलकारको योजना अघि बढाएको हो। कम्पनीले वन तथा वातावरण मन्त्रालयमा वातावरणीय प्रभाव मूल्यांकन (EIA) प्रतिवेदन पेश गरिसकेको छ।
कम्पनीले निर्माण गर्न लागेको केबलकारको लम्बाइ २.०७५ किलोमिटर हुनेछ, जसमा ३४ वटा गोन्डोला रहनेछ। एक गोन्डोलामा अधिकतम १० यात्रु सवार हुन सक्नेछन्। प्रतिदिन ५ हजार यात्रुलाई सेवा दिने लक्ष्यसहित निर्माण हुने केबलकारमा २ वटा टावर रहनेछन्। एकतर्फी यात्रा ७.०१ मिनेटमा सम्पन्न हुने कम्पनीले जनाएको छ।
तल्लो स्टेशन दक्षिणकालीमा ५,९७५ वर्गमिटरमा फैलिनेछ, जहाँ टिकट काउन्टर, लाइन क्षेत्र, चढ्ने–ओर्लने स्थान, पार्किङ, शौचालय, अपरेटर रुम, विश्राम कक्ष, कार्यालय, मेडिकल, जेनेरेटर र बिजुली सम्बन्धी कोठाहरू रहनेछन्। यहाँ दुईपांग्रे ४ सय र चारपांग्रे २ सय सवारीको पार्किङ क्षमता रहनेछ।
माथिल्लो स्टेशन कीर्तिपुरमा १.८० हेक्टरमा निर्माण हुनेछ, जहाँ दुई तल्लाको आरसीसी भवन, अपरेटर रुम, टिकट काउन्टर, पर्यटक सूचना केन्द्र, जलपान गृह, रेस्टुरेन्ट, सम्मेलन हल, भान्साघर तथा इनडोर गेमिङ, साहसिक खेल सामाग्री रहने मनोरञ्जन भवन बन्नेछ। उक्त भवन ७,५०० वर्गमिटरमा फैलिनेछ।
परियोजनाअन्तर्गत मनोरञ्जन पार्क, मन्दिर, बाल उद्यान, पिङ, डोरी साहसिक खेल, रंगीन स्लाइड, एम्फीथिएटर जस्ता आकर्षण रहनेछ। ५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको परियोजनाबाट ३१२ स्थायी र ३०० अस्थायी रोजगारी सिर्जना हुने बताइएको छ।
पर्यावरणीय असर न्यूनीकरणका लागि १० गुणा वृक्षरोपण, वन्यजन्तु संरक्षण, धूलो र प्रकाश प्रदूषण नियन्त्रण जस्ता उपाय अवलम्बन गरिनेछ। वातावरणीय व्यवस्थापनमा ६ करोड ६६ लाख छुट्याइनेछ, जसमा ९१ लाख सामाजिक उत्तरदायित्व अन्तर्गत स्थानीय विकासमा प्रयोग गरिनेछ।
यो परियोजनामा विशाल ग्रुप, संघई परिवार र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालको मुख्य लगानी रहनेछ। कम्पनीले दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ।