Symbolic photo
दमौली – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ र ४ जोड्ने मादी नदी पुलबाट जीप खस्दा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
ग२च ५७६० नम्बरको जीप दमौलीबाट चापाघाटतर्फ जाँदै गर्दा पुलको रेलिङ भत्काएर मादी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। दुर्घटनामा पाँच जना सवार थिए।
मृत्यु हुनेमा व्यास–५ का ३५ वर्षीय प्रविन थापा मगर, २२ वर्षीय कुमार थापा र २० वर्षीय कुशल थापा रहेका छन्। उनीहरूको दमौली अस्पतालमा मृत्यु भएको हो।
घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको र थप उपचारका लागि पोखरा लैजाने तयारी भइरहेको प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिए। चालकको अवस्था सामान्य रहेको बताइएको छ।
दुर्घटनापछि नेपाली सेनाको कालीभञ्जन गण (इ), नेपाल प्रहरी र स्थानीयबासीको सहकार्यमा उद्धार गरिएको थियो।