काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष निर्वाचन आयोग नेपाल ले फागुन २१ गते सम्पन्न ‘प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२’ को प्रतिवेदन पेस गरेको छ। शीतल निवासमा आयोजित कार्यक्रममा आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी ले उक्त प्रतिवेदन बुझाएका हुन्।
राष्ट्रपति पौडेलले कठिन र जटिल परिस्थितिमा पनि निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा खुशी व्यक्त गरे। उनले निर्वाचन सम्पन्न गराउन खटिएका आयोग, राष्ट्रसेवक कर्मचारी तथा सम्बद्ध सबै पक्षलाई धन्यवाद दिएका छन्। उनका अनुसार स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न निर्वाचनले लोकतन्त्रलाई अझ मजबुत बनाएको अनुभूति भएको छ।
आयोगले प्रतिवेदन बुझाएसँगै अब नवनिर्वाचित सांसदहरूको शपथ र सरकार गठनको प्रक्रिया अघि बढ्ने भएको छ। संसद सचिवालयले चैत १२ गते शपथ ग्रहण कार्यक्रम तय गरेको छ।
शपथपछि १८२ सिटसहित दुईतिहाइ नजिक पुगेको राष्ट्रिय स्वतन्त्र पार्टी ले एकल सरकार गठन गर्ने तयारी गरेको छ। संविधानको धारा ७६ (१) अनुसार संसदीय दलको नेता चयन गरेपछि प्रधानमन्त्री नियुक्तिको प्रक्रिया अघि बढ्नेछ।