काठमाडौं - तेस्रो मुलुकबाट आयातित भटमास, सूर्यमुखी, र पाम तेलको निर्यात बढेसँगै चालु आर्थिक वर्षको पहिलो ६ महिनामा नेपालको कुल निर्यात ३२ प्रतिशतले वृद्धि भएको छ। भन्सार विभागका अनुसार यो अवधिमा ९८ अर्ब ७८ करोडको वस्तु निर्यात भएको छ, जसमा खाने तेलको हिस्सा २५.३२ प्रतिशत छ।
भारतले भन्सार दर बढाएपछि उद्योगीले तेल निर्यातलाई प्राथमिकता दिएका छन्। चालु आर्थिक वर्षको पहिलो ६ महिनामा मात्रै २५ अर्ब २ करोड रुपैयाँको तेल निर्यात भएको छ। गत वर्ष यो समयावधिमा ३ अर्ब ४५ करोडको मात्र तेल निर्यात भएको थियो।
नेपालमा ३० प्रतिशत मूल्य अभिवृद्धिसहित उत्पादन भएको वस्तुले भारतमा भन्सार छुट सुविधा पाउँछ। यसले उद्योगीलाई निर्यात गर्न प्रोत्साहन गरेको छ। व्यवसायीहरूका अनुसार भारतमा अग्रिम भुक्तानी पाउने र नेपालमा उधारो बिक्रीका कारण पनि निर्यातमै जोड दिइएको हो।
भन्सार विभागका तथ्याङ्कअनुसार चालु आर्थिक वर्षमा कच्चा तेलको आयात पनि उल्लेख्य रूपमा बढेर ४० अर्ब ८४ करोड पुगेको छ। तेल उद्योगहरूले स्वदेशी कच्चा पदार्थ अभावका कारण तेस्रो मुलुकबाट कच्चा तेल आयात गरेर स्थानीय र अन्तर्राष्ट्रिय बजारमा पठाउने गरेका छन्।
वाणिज्य आपूर्ति विभागका महानिर्देशक राजन पौडेलले निर्यात बढ्नु सकारात्मक भए पनि स्वदेशी उत्पादनको प्रोत्साहनले मात्र निर्यातलाई दिगो बनाउने बताए।