कांग्रेसको केन्द्रीय समिति बैठकः अप्राकृतिक गठबन्धन नगर्ने घोषणा

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले ६ बुँदे निर्णय सार्वजनिक गरेको छ। सभापति गगन थापाको अध्यक्षतामा नयाँ बानेश्वरमा बसेको बैठकले निर्वाचन आयोगले दोस्रो विशेष महाधिवेशनका निर्णयलाई दिएको मान्यतालाई स्वागत गर्दै यसलाई व्यक्ति वा समूहको जित–हार नभई विधि र लोकतन्त्रको विजयका रूपमा व्याख्या गरेको छ। बैठकले यस प्रक्रियामा साथ दिने सबै नेता, कार्यकर्ता, शुभेच्छुक र सहयोगीप्रति आभार व्यक्त गरेको छ।

बैठकले पार्टीभित्र एकता, सद्भाव र सहकार्यलाई प्राथमिकता दिँदै देश–विदेशमा रहेका कांग्रेसका सबै तहका समिति, भ्रातृ तथा शुभेच्छुक संस्थालाई फागुन २१ गते हुने निर्वाचनमा नयाँ ऊर्जा र पूर्ण एकताका साथ सक्रिय हुन आह्वान गरेको छ। साथै, विभिन्न कारणले पार्टीबाट निष्क्रिय रहेका वा पार्टी परित्याग गरेका नेता–कार्यकर्तालाई पुनः कांग्रेसमा फर्किन आग्रह गरिएको छ।

कांग्रेसले निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टी नेतृत्वमा रहँदा पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै धन्यवाद प्रकट गरेको छ। आगामी दिनमा देउवाबाट पार्टीले अभिभावकीय भूमिका प्राप्त गर्ने विश्वास समेत बैठकले व्यक्त गरेको छ।

बैठकले अब उप्रान्त कुनै पनि अप्राकृतिक गठबन्धन वा सत्तामुखी सम्झौता नगर्ने स्पष्ट प्रतिबद्धता दोहोर्‍याएको छ। कांग्रेसले मूल्य र सिद्धान्तमा अडिग रहँदै संविधानको संरक्षण गर्ने र समृद्ध नेपालको नेतृत्व गर्ने बताएको छ। नवयुवाको आकांक्षा र आम नागरिकको अपेक्षालाई व्यवहारमा उतार्ने दिशामा अघि बढ्ने निर्णय पनि बैठकले गरेको छ।

कांग्रेसले वर्तमान अवस्थालाई रूपान्तरण, एकता र विजयको नयाँ चरणको रूपमा व्याख्या गर्दै समुन्नत नेपाल निर्माणको साझा अभियानमा सबैलाई साथ दिन आह्वान गरेको छ। बैठकपछि पार्टी प्रवक्ता देवराज चालिसेले यी निर्णयहरू सार्वजनिक गरेका हुन्।

प्रतिक्रिया