काठमाडौं - शेयर बजार प्रति नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिको चर्को आलोचना भएको छ ।
लामो समयदेखि र नियमितरुपमै घट्दोक्रममा रहेको सेयर बजारमा आइतबार प्रचण्डले बोलेको कुरालाई प्रमुख कारण देखाइएको छ ।
३२ सय विन्दु माथि पुगेको बजार २४ सयको लाइनमा आइसकेको छ । अब यही भाणणलाई बाहना बनाएर थप बजार घटाउन चलखेल भइरहेको अनुमान कतिपय लगानीकर्ताहरुले गरेका छन् ।
आखिर के भनेका थिए प्रचण्डले ?
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एक कार्यक्रममा औद्योगिक क्षेत्रमा लगाउनुपर्ने पुँजी र स्रोतहरु पुँजी बजार लगायतका क्षेत्रमा जानु साम्राज्यवादको विकसित रुप भएको बताएका हुन् । माओवादी केन्द्रको सबै प्रदेशको प्रदेश सम्मेलनलाई काठमाडौंबाट एकैसाथ उद्घाटन गर्दै प्रचण्डले पछिल्लो समय पुँजीको लगानी उद्योग र उत्पादनका क्षेत्रमा हुन छाडेर पुँजी बजारमा लगानी हुनु साम्राज्यवादको विकसित रुप भएको दाबी गरे ।
एकाधिकार पुँजीवाद र संशोधनवाद जोडिएर वित्तीय एकाधिकार पुँजीवादमा भूमण्डलीकृत पुँजीवाद बन्दै गएको भन्दै यसलाई निस्तेज गर्ने गरी पुँजी बजारको विषयमा पार्टीको दस्तावेजमा नै समावेश गराउने बताए । पहिले पहिले पुँजीको लगानी उद्योग र उत्पादनका क्षेत्रमा हुने गरेको तर अहिले लगानी पुँजी वा दोस्रो बजारमा हुनु वित्तीय पुँजीवादको विशेषता भएको बताए ।