भीषण बाढीपछि रसुवागढी नाका पुनःनिर्माण सुरु

नुवाकोट । चीनको तिब्बतस्थित लेन्देखोलामा अकल्पनीय रूपमा आएको भीषण बाढीले गरेको क्षतिको मूल्याङ्कन सुरु गरिएको छ। बाढी आएको चार दिनमै चीनले सडक तथा पूर्वाधारको पुनर्निर्माणको काम पनि अघि बढाएको छ।

नेपालतर्फ पनि रसुवागढी जाने सडकखण्डमा हेभी इक्युपमेण्ट प्रयोग गरी सडक र अन्य ध्वस्त संरचनाको पुनःनिर्माण कार्य तीव्र गतिमा अगाडि बढाइएको छ।

मंगलबार आएको बाढीले लेन्देखोलामा पुल, जलविद्युत् आयोजना, यातायात, भन्सार भवन, र विद्युतीय सवारी साधनमा ठूलो क्षति पुर्‍याएको थियो। सयौं रोपनी जमिन कटान भएको छ भने बाढीले रसुवागढी नाका पुग्ने सडकसमेत बगाएको छ।

चीनले रसुवागढी नाका क्षेत्रमा सफाइ तथा मलबा हटाउने काम गरिरहेको छ। चीनका अधिकारीहरूले शुक्रबार नेपाली अधिकारीहरूसँग समन्वय गर्दै नयाँ बाटो र पुल निर्माणका विषयमा चासो व्यक्त गरेका छन्। रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीका अनुसार पहिलो चरणमा चीनले पहिरो व्यवस्थापनको काम गरिरहेको छ। बेलिब्रिज राख्ने तयारी पनि चीनले जनाइसकेको छ।

रसुवागढी नाका भएर नेपाल भित्रिने सामानहरूबाट दैनिक एक करोड रुपैयाँभन्दा बढी राजस्व संकलन हुने गरेको थियो। तर बाढीपछिको अवस्थाले उक्त राजस्व शून्यमा झरेको छ। नेपाली सुरक्षाकर्मी र जनप्रतिनिधिहरूले बाढीग्रस्त क्षेत्रमा स्थलगत अनुगमन गरिरहेका छन्।

बाढीले सखाप बनाएको स्याफ्रुवेशी–रोङ्गा–टिमुरे–रसुवागढी सडकखण्डको पुनःनिर्माणका लागि सडक आयोजना, डिभिजन सडक कार्यालय र यान्त्रिक कार्यालय नुवाकोटले समन्वय गरेर तीन थान जेसीबी, एक थान ब्रेकर र आवश्यक जनशक्ति परिचालन गरी काम अघि बढाइएको जिल्ला समन्वय समिति रसुवाका प्रमुख अशोकनाथ घिमिरेले जानकारी दिनुभयो।

उनका अनुसार बढीमा एक हप्ताभित्र अस्थायी सडक सञ्चालनमा ल्याउने लक्ष्यसहित काम भइरहेको छ। नेपालले क्षतिको विवरण संकलन गरिरहँदा चीनले पुनःनिर्माणको काम तीव्र पारिसकेको छ।

बाढीका कारण रसुवागढी नाका, विद्युत् संरचना र अन्य पूर्वाधारमा अर्बौं रुपैयाँ बराबरको क्षति भएको छ। बाढीमा परेर तीन जना सुरक्षाकर्मीसहित २० जना हराएका थिए। हालसम्म एक जनाको शव फेला परेको छ।

हराइरहेकामध्ये १२ जना नेपाली र ६ जना चिनियाँ नागरिकको पहिचान भएको छ भने अन्य केहीको परिचय खुलेको छैन। बाढीमा हराएकामा दुई जना प्रहरी, अन्य चालक तथा कामदारसमेत छन्।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय