विराटनगर । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री विदुर लिङ्थेपले प्रदेश सभामा प्रस्तुत गरेको बजेट गत आर्थिक वर्षको तुलनामा १२.७४ प्रतिशतले बढी रहेको बताएका छन् ।
प्रस्तुत बजेटमध्ये चालु खर्चतर्फ १३ अर्ब ९७ करोड ६३ लाख रुपैयाँ र पुँजीगत खर्चतर्फ २० अर्ब ७५ करोड ९९ लाख रुपैयाँ विनियोजन गरिएको छ । कुल बजेटमध्ये पुँजीगततर्फ ५१.३२ प्रतिशत र चालुतर्फ ३४.५५ प्रतिशत हिस्सा रहेको छ । यस्तै, वित्तीय व्यवस्थापनतर्फ १५ करोड रुपैयाँ छुट्याइएको छ ।
बजेट कार्यान्वयनका लागि आवश्यक स्रोत व्यवस्थापनबारे जानकारी दिँदै मन्त्री लिङ्थेपले आन्तरिक राजस्वबाट ५ अर्ब ५० करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको बताए । यस्तै, राजस्व बाँडफाँडबाट १२ अर्ब ८७ करोड, संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानमार्फत ९ अर्ब १२ करोड, सशर्त अनुदानबाट ५ अर्ब ९५ करोड, समपूरक अनुदानबाट ६४ करोड तथा विशेष अनुदानबाट ५५ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।
त्यसैगरी, रोयल्टीबाट ४१ करोड रुपैयाँ, सोझै भुक्तानी प्रणालीमार्फत २० करोड रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ । बाँकी अपुग हुने करिब ५ अर्ब रुपैयाँ नगद मौज्दातबाट व्यवस्थापन गरिने सरकारले जनाएको छ ।