गृहमन्त्री रमेश लेखकले आफू सधैं नागरिकप्रतिको जिम्मेवारी निर्वाह गर्न प्रतिबद्ध रहेको स्पष्ट पारेका छन्। प्रतिनिधिसभाको आकस्मिक बैठकमा उठाइएका केही आरोपहरूलाई खण्डन गर्दै उनले आफू असम्बन्धित विषयमा नचाहिँदो रूपमा जोडिएको भन्दै त्यसप्रति खेद व्यक्त गरे। उनले सार्वजनिक भएका केही घटनामा आफ्नो कुनै संलग्नता नरहेको दोहोर्याउँदै ती कुरा नियतवश उठाइएको कुप्रचार भएको बताए।
गृहमन्त्री लेखकले सेवा प्रवाह प्रभावकारी बनाउन सूचना प्रविधिको प्रयोगलाई प्राथमिकता दिएको उल्लेख गरे। उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन प्रणाली सुधार्न ‘डेस्क’ थप गरिएको, भिसा स्क्यानिङको प्रविधि लागू गरिएको र सुरक्षा उपायलाई बलियो बनाइएको जानकारी गराए।
भ्रष्टाचारसम्बन्धी एक घटनाको अनुसन्धान अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रारम्भ गरिसकेको बताउँदै उनले सरकार अनुसन्धान प्रक्रियामा पूर्ण सहयोग गर्न तयार रहेको स्पष्ट पारे। ‘राज्यमा सुशासन कायम गर्न जे गर्नुपर्छ, म त्यसका लागि सधैं तयार छु’, उनले भने। उनले आयोगको निर्णय नआउँदै कसैलाई दोषी करार गर्न हतार नगरियोस् भन्ने आग्रह समेत गरे।
उनका अनुसार भ्रष्टाचार अनुसन्धान गर्ने जिम्मा संवैधानिक निकायको हो र त्यसलाई प्रभाव पार्ने खालको व्यवहार अनुचित हुन्छ। उनले सार्वजनिक निकायको प्रतिष्ठा र पदाधिकारीको चरित्रमा आघात पुग्ने खालको गतिविधि रोक्न सबैलाई आग्रह गरे।
साथै, त्रिभुवन विमानस्थलमा कार्यरत एक सहसचिवको सरुवासम्बन्धी प्रसंग उठाउँदै उनले ती अधिकारी गृह मन्त्रालयकै कर्मचारी भएको र जिम्मेवारी हेरफेर मात्र गरिएको बताए। अख्तियारका एक प्रहरी नायब महानिरीक्षकको सरुवा अनुसन्धान प्रभावित पार्ने उद्देश्यले गरिएको भन्ने आरोप असत्य रहेको उनको भनाइ छ।
गृहमन्त्री लेखकले गृहमन्त्रालयको नेतृत्व सम्हालेदेखि प्रशासनिक सुधार र प्रभावकारी कार्य सम्पादनमा आफू केन्द्रित रहेको स्पष्ट गरे। उनले नीति निर्माण र सरकारको संयोजन मन्त्रीको प्रमुख भूमिका भएको भन्दै कानुनअनुसार प्रशासनिक कामबाहेक अन्य कार्यमा मन्त्रीको प्रत्यक्ष संलग्नता नहुने स्पष्ट पारे। ‘कुनै कार्यालयमा भएको घटनामा मन्त्री प्रत्यक्ष संलग्न हुन्छ भन्ने कुरा कसरी सम्भव हुन्छ?’ भन्दै उनले जिज्ञासा व्यक्त गरे।