विश्वप्रकाशको शिरमा सिटौलाको हात

काठमाडौं - नेपाली काँग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले नेता कृष्णप्रसाद सिटौलाबाट बधाई तथा आशीर्वाद ग्रहण गरेका छन् । 

आइतबार सिटौला निवास चण्डोल पुगेका  शर्मालाई सिटौलाले आशीर्वादसहित टीका र खादा लगाइदिएका हुन् । 

प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीमा निर्वाचित भएका शर्माले चार दिन पछि सिटौलालाई भेटेका हुन् । शर्मा पुस १ गते महामन्त्रीमा निर्वाचित भएका थिए । काँग्रेसका पूर्वमहामन्त्री सिटौला र नवनिर्वाचित महामन्त्री शर्माको गृहजिल्ला झापा नै हो । काँग्रेस राजनीतिमा सिटौला र शर्मा पछिल्लो समय एउटै कित्ता छैनन् । झापाको काँग्रेस राजनीतिमा सिटौला र शर्माबीच चर्को प्रतिस्पर्धा रहँदै आएको छ । 

सिटौलाले गगन थापा र शर्मालाई रोक्न पौडेललाई महामन्त्रीको रुपमा अगाडि बढाएको महाधिवेशनताका काँग्रेस वृत्तमा चर्चा हुने गरेको थियो । तर शर्मा महामन्त्री भएपछि सिटौलाको बधाई तथा आर्शिवाद लिन निवासमै पुगेका हुन् । काँग्रेसमा ‘संस्कारी’ नेताको पहिचान बनाएका शर्माले शीर्ष नेतालाई भेटेर बधाई तथा आर्शिवाद लिइरहेका छन् ।

प्रतिक्रिया