नेपाल एलपी ग्यास उद्योगी र सरकारबीच पाँच बुँदे सहमति, आन्दोलन फिर्ता

नेपाल एलपी ग्यास उद्योगीहरूले सरकारसँग पाँच बुँदे सहमति भएपछि आफ्नो आन्दोलन फिर्ता लिएका छन्। मंगलबार वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की नेतृत्वको सरकारी टोली र नेपाल एलपी ग्यास उद्योग संघबीच चार घण्टा लामो वार्तापछि ग्यासको मूल्य संरचनामा समायोजन गर्ने सहमति जुटेको हो। सहमति अनुसार, ग्यास उद्योगीलाई प्रतिसिलिन्डर १२ रुपैयाँ ७५ पैसा कमिसन वृद्धि गरिने भएको छ।

तर, उपभोक्ताले तिर्ने ग्यासको बजार मूल्य भने यथावत नै रहनेछ। हाल एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १,९१० रुपैयाँ छ। उद्योगीहरूले नेपाल आयल निगमबाट पीडीओ (प्रोडक्ट डिस्प्याच अर्डर) नउठाउँदा ग्यास आपूर्ति प्रभावित हुन थालेको थियो। सहमति भएसँगै उद्योगीहरूले आन्दोलन फिर्ता लिँदै नियमित रूपमा ग्यास आपूर्ति गर्ने प्रतिबद्धता जनाएका छन्।

सहमति अनुसार, निगम सञ्चालक समितिले ग्यास उद्योगीको ढुवानी भाडा, सञ्चालन खर्च तथा प्रशासनिक खर्च समायोजन गरेको छ। साथै, ग्यास उद्योगको मुनाफा संरचना पुनरावलोकन गर्न उपसमिति गठन गरी अध्ययन गर्ने निर्णय भएको छ। निगमले सम्बोधन गर्न सक्ने मागहरू तत्काल कार्यान्वयन गर्ने, अन्य विषयमा मन्त्रालयस्तरमा आवश्यक पहल गर्ने सहमति समेत भएको छ।

यस सहमतिसँगै उद्योगीहरूले आन्दोलन फिर्ता लिई ग्यास आपूर्ति सहज बनाउने प्रतिवद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया