काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावली दर्ताका लागि देखिएको बढ्दो भीड र चापलाई ध्यानमा राख्दै म्याद थप्न निर्वाचन आयोगलाई अनुरोध गरेकी छिन्।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त राम्रसाद भण्डारीसँग भएको टेलिफोन संवादमा उनले दर्ता अवधि थप्नु उचित हुने भन्दै सुझाव राखेकी हुन्। प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलका अनुसार, प्रधानमन्त्रीको आग्रहलाई आयोगले सकारात्मक रूपमा लिएको छ र दर्ता अवधि पाँच दिनसम्म बढाउन सकिने सम्भावना रहेको आयुक्त भण्डारीले जानकारी गराएका छन्।
राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा अनलाइनबाटै मतदाता नाम दर्ता गर्न मिल्ने व्यवस्था लागू भएपछि बिहीबारदेखि अनलाइन प्रणालीमा असाधारण चाप देखिएको छ।
यससँगै इन्टरनेट सर्भरमा देखिएको अवरोधप्रति समेत प्रधानमन्त्री कार्कीले चासो व्यक्त गरेकी छन्। अत्यधिक दर्ता प्रयासका कारण प्रणालीमा समस्या बढिरहेको अधिकारीहरूको भनाइ छ।