छ महिनामै आठ खर्ब नाघ्यो नेपालको व्यापार घाटा

चालु आर्थिक वर्षको पहिलो छ महिनामा नेपालको व्यापार घाटा झन्डै आठ खर्ब रुपैयाँ पुगेको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार पुस मसान्तसम्म व्यापार घाटा सात खर्ब ९७ अर्ब रुपैयाँ नाघेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७४ अर्ब रुपैयाँले बढी हो। अघिल्लो वर्ष यस अवधिमा व्यापार घाटा सात खर्ब २३ अर्ब रुपैयाँ रहेको थियो। नेपालको वार्षिक व्यापार घाटा सवा १५ खर्ब रुपैयाँ हाराहारीमा पुगेको छ, जसले अर्थतन्त्रमा दीर्घकालीन दबाब सिर्जना गरिरहेको देखिन्छ।

स्वदेशमै खपत हुने वस्तुको उत्पादन पर्याप्त नबढ्दा आयातमा निर्भरता उच्च रहँदै आएको छ। वैदेशिक व्यापारको संरचना अझै पनि आयात केन्द्रित भएकाले व्यापार सन्तुलन झन् असन्तुलित बन्दै गएको छ। पछिल्ला महिनामा व्यापारिक गतिविधि केही बढेजस्तो देखिए पनि निर्यातको गति कमजोर रहँदा समग्र व्यापार घाटा घट्न सकेको छैन। नेपाल हाल एक सयभन्दा बढी मुलुकसँग व्यापार घाटाको अवस्थामा रहेको छ।

सरकारले स्वदेशी उत्पादन बढाएर व्यापार घाटा घटाउने नीति लिँदै आएको भए पनि व्यवहारमा त्यसको प्रभाव देखिन सकेको छैन। निर्यात प्रोत्साहनका लागि अनुदान र ‘मेड इन नेपाल, मेक इन नेपाल’ जस्ता अभियान घोषणा गरिए पनि अपेक्षित नतिजा प्राप्त हुन सकेको छैन। निजी क्षेत्रसँगको सहकार्य प्रभावकारी नहुँदा र उत्पादन लागत उच्च रहँदा निर्यात व्यापार उत्साहजनक बन्न नसकेको विश्लेषण गरिएको छ।

छ महिनाको अवधिमा नेपालको कुल वैदेशिक व्यापार १० खर्ब ८१ अर्ब रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा १७.३६ प्रतिशतले बढी हो। यस अवधिमा नौ खर्ब ३९ अर्ब रुपैयाँभन्दा बढीको वस्तु आयात भएको छ भने निर्यात एक खर्ब ४२ अर्ब रुपैयाँमा सीमित छ। कुल वैदेशिक व्यापारमा आयातको हिस्सा करिब ८७ प्रतिशत र निर्यातको हिस्सा १३ प्रतिशतभन्दा केही बढी मात्र रहेको छ। नेपालको सबैभन्दा ठूलो व्यापार साझेदार भारत रहेको छ भने चीन दोस्रो स्थानमा छ, र भारतसँगकै व्यापार घाटा सबैभन्दा बढी देखिएको छ।

आयाततर्फ हेर्दा इन्धनले सबैभन्दा ठूलो हिस्सा ओगटेको छ। पेट्रोलियम पदार्थ आयातमै एक खर्ब ५१ अर्ब रुपैयाँ बाहिरिएको छ, जुन कुल निर्यात रकमभन्दा बढी हो। डिजेल, पेट्रोल र एलपी ग्यास आयातमा ठूलो रकम खर्च भएको छ। त्यसपछि वनस्पति तथा पशुजन्य तेल, फलाम तथा स्टिल, विद्युतीय उपकरण, मेसिनरी र सवारीसाधन आयात उच्च रहेको छ। यी वस्तुहरू पूर्वाधार विकास र उपभोगसँग जोडिएका भए पनि उत्पादनशील क्षेत्रको विस्तार कमजोर रहँदा निर्यातले आयातको भार धान्न सकेको छैन।

निर्याततर्फ भने प्राथमिक तथा कम मूल्य अभिवृद्धि भएका वस्तुको वर्चस्व कायमै छ। वनस्पति तेल, कफी, चिया, मसला, कार्पेट र तयारी पोसाक प्रमुख निर्यात वस्तुमा पर्छन्। कच्चा सोयाबिन निर्यातबाट सबैभन्दा बढी आम्दानी भएको छ भने अलैंची, कार्पेट र कच्चा सूर्यमुखी तेल पनि प्रमुख निर्यात वस्तुमा रहेका छन्। कच्चा वा अर्धप्रशोधित वस्तुमा आधारित निर्यातले तत्काल विदेशी मुद्रा भित्र्याए पनि दीर्घकालमा व्यापार घाटा घटाउन पर्याप्त नहुने अर्थविद्हरूको भनाइ छ।

सरकारले आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनलाई प्राथमिकता दिए पनि ऊर्जा, कृषि, पर्यटन र साना तथा मझौला उद्योगलाई उत्पादन र निर्यातसँग जोड्ने स्पष्ट तथा कार्यान्वयनयोग्य रणनीति नबनाउँदासम्म व्यापार घाटा संरचनागत समस्याकै रूपमा कायम रहने देखिन्छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय