वैशाखमा ब्याजदर नबढ्ने पक्का,शेयर बजारलाई राहात

काठमाडौँ - वाणिज्य बैंकहरुले आउँदो महिनाको लागि ब्याजदर स्थिर राख्ने भएका छन् ।  वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले आइतबार निर्णय नै गरिसकेको छ ।

ब्याजदर बढाए पनि बचत नबढेपछि आउँदो महिना यथावत राख्ने निर्णय गरिएको हो । वाणिज्य बैंकहरुले गत फागुनमा मात्र निक्षेपको ब्याजदर बढाएका थिए । चैतमा भने निक्षेपको ब्याजदर स्थिर राखेका थिए । चैतमाजस्तै वैशाखमा पनि निक्षेपको ब्याजदर नबढाउने सहमति भएको बैंकर्स संघले जनाएको छ । ‘ब्याजदर बढाएर मात्र निक्षेप बढ्ने होइन । यसले ब्याजदरमा अस्थिरता मात्र बढाउँछ,’ बैंकर्स संघका उपाध्यक्ष सुनिल केसीले भने, ‘वैशाखका लागि पनि चैतकै ब्याजदर प्रकाशित गर्ने सहमति भएको छ ।’

अब वैशाख महिनाका लागि बैंकहरुले चैतकै ब्याजदर प्रकाशित गर्ने छन् । जसअनुसार वाणिज्य बैंकहरुको हाल एक वर्षे व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ११.०३ प्रतिशत ब्याजदर तोकिएको छ । गत माघको तुलनामा फागुनमा बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर ०.९८ प्रतिशत बिन्दुले बढाएका थिए । फागुनमा वाणिज्य बैंकहरुले संस्थागत एक वर्षे मुद्दती निक्षेपको अधिकतम ब्याजदर १०.०३ प्रतिशत र साधारण बचतको ६.०३ प्रतिशत कायम गरेका थिए । सहमति अनुसार बैंकहरुले साेही ब्याजदर प्रकाशित गर्ने भएकाले वैशाख महिनाका लागि पनि निक्षेपकर्ताले उल्लेखित ब्याजदर नै पाउने छन् ।

प्रतिक्रिया