काठमाडौं – नेपाल प्रहरीका ६ जना नायब महानिरीक्षक (डीआईजी)हरू अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिस भएका छन्।
गृह मन्त्रालयका सचिवको नेतृत्वमा रहेको बढुवा समितिको बिहीबार बसेको बैठकले जनपद समूहतर्फका ६ जना डीआईजीलाई एआईजी पदमा बढुवा गर्न सिफारिस गरेको हो।
बढुवा सिफारिसमा परेका डीआईजीहरूमा चन्द्रकुवेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र मनोजकुमार केसी रहेका छन्।
खापुङ हाल केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाजिम्पाटमा कार्यरत छन्। आचार्य मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख हुन् भने पोखरेल बागमती प्रदेश कार्यालय हेटौंडामा कार्यरत छन्।
त्यस्तै, कार्की लुम्बिनी प्रदेश कार्यालय तुलसीपुरमा, अधिकारी कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा र केसी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा कार्यरत छन्।