स्कटल्याण्डमा जारी आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको पहिलो खेलमा नेपालले रोमाञ्चक जित दर्ता गरेको छ। डुन्डीमा सम्पन्न खेलमा नेपालले घरेलु टोली स्कटल्याण्डलाई १ विकेटले पराजित गर्दै एकदिवसीय क्रिकेट इतिहासकै उच्च लक्ष्य पछ्याउने कीर्तिमान बनाएको हो।
स्कटल्याण्डले दिएको २९७ रनको लक्ष्य नेपालले अन्तिम बल बाँकी रहँदा ९ विकेटको क्षतिमा पुरा गर्यो। संकटपूर्ण अवस्थामा नेपाललाई अन्तिम ६ ओभरमा ६८ रन आवश्यक रहँदा ३ विकेट मात्र बाँकी थियो। यस्तो अवस्थामा करण केसीको अविजित ६५ रनको साहसिक इनिङ निर्णायक बन्यो। उनले ४१ बलमा ७ चौका र ३ छक्का प्रहार गर्दै नेपाललाई जित दिलाए र 'म्यान अफ द म्याच' बने।
गुल्शन झाले ४५औं ओभरमा दुई छक्का हानेर दबाब कम गरे पनि ४६औं ओभरमा आउट भए। त्यसपछि सन्दीप लामिछाने र करणले साझेदारी गर्दै ४८औं ओभरमा १३ रन जोडे। ४९औं ओभरमा करणले एक छक्का र दुई चौकासहित १८ रन जोड्दा नेपाललाई अन्तिम ओभरमा ७ रन चाहिएको थियो। ओभरको पहिलो बलमा सन्दीप आउट भए पनि रिजन ढकालले एक रन लिएर करणलाई स्ट्राइक दिए। करणले दुई बलमा चार रन जोड्दा अन्तिम बलमा १ रन आवश्यक थियो, जुन उनले सहजै पूरा गरे।
यसअघि नेपालका ओपनर कुशल भुर्तेलले ५३, गुल्शन झाले ४२, भीम सार्कीले ४० र कप्तान रोहित पौडेलले ३७ रन जोडे। यस खेलसँगै नेपालले क्यानडाविरुद्ध २८७ रनको लक्ष्य पछ्याएको पुरानो कीर्तिमान तोड्दै नयाँ सफलता हासिल गर्यो।
स्कटल्याण्डका ब्रान्डन म्याकमुलेनले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए भने ज्याक जार्भिस र माइकल लिस्कले २-२ विकेट झारे। जास्पर डेभिडसन र मार्क वाटले १-१ विकेट लिए।
नेपालले टस जितेर पहिले फिल्डिङ रोजेपछि स्कटल्याण्डले ५० ओभरमा ७ विकेटको क्षतिमा २९६ रन बनायो। ओपनर चार्ली टियरले ८० रन बनाउँदै सर्वाधिक योगदान गरे। फिनले म्याकरिथले ५५, कप्तान रिची बेरिङटनले ४० र म्याथ्यु क्रसले ३९ रन बनाए।
नेपालका लागि करण केसी, सोमपाल कामी र रिजन ढकालले समान २–२ विकेट लिए भने सन्दीप लामिछानेले १ विकेट लिए।
यस जितसँगै नेपालले लिग २ मा १३ खेलबाट ८ अंक बनाउँदै आठौं स्थानबाट सातौं स्थानमा उक्लिएको छ। स्कटल्याण्ड भने १७ खेलबाट २० अंकसहित चौथो स्थानमा यथावत् रहेको छ।