काठमाण्डौ - निर्वाचन आयोगमा समाजवादी विचारधाराका दुई पार्टी दर्ता भएका छन् । माधवकुमार नेपालको नेतृत्वमा एकीकृत समाजवादी पार्टी र महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी दर्ता भएको हो ।
दुवै पार्टीले निर्वाचन आयोगमा पुगेर सनाखत प्रक्रिया पूरा गरेसँगै दर्ताको सूचना प्राप्त गरेको बताएका छन् । आयोगले दल दर्ताको प्रमाणपत्र बिहीबार दिने सूचित गराएको नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादीका नेताहरूले बताए ।
नेकपा एकीकृत समाजवादी दर्ताका लागि ५४ जना केन्द्रीय सदस्य र २९ जना सांसदले सनाखत गरेको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । यस्तै लोकतान्त्रिक समाजवादी दर्ताका लागि १४ सांसद र १७ जना केन्द्रीय सदस्यले सनाखत गरेको श्रेष्ठको भनाइ छ ।