नीतिगत संरक्षण भए तीव्र आर्थिक विकास–वरिष्ठ उपाध्यक्ष ढकाल

चितवन–नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारबाट नीतिगत संरक्षण भए निजी क्षेत्रले छोटो अवधिमै आर्थिक विकासलाई परिणाममुखी बनाउने बताएका छन् । चितवन उद्योग वाणिज्य संघले आयोजना गरेको १३ औं चितवन महोत्सवलाई आइतबार सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले निजी क्षेत्र र सरकारको लक्ष्य एउटै भए पनि सहकार्यलाई नयाँ ढंगले अघि बढाउनुपर्ने आवश्यकता रहेको औंल्याए । 


 “निजी क्षेत्रले कुनै पनि काम अघि बढाउन खोज्यो भने त्यहाँ धेरै तिरबाट अवरोध आउँछन्,” वरिष्ठ उपाध्यक्ष ढकालले भने, “निजी क्षेत्रले लगानी गरेर रोजगारी सिर्जना गर्ने र आर्थिक गतिविधि बढाउने नै हो तर हामीले प्रक्रियागत झमेला नै बढी बेहोर्नुपरिरहेको छ ।”


 ढकालले गैंडाकोटमा निर्माणाधीन केबलकारको भौतिक निर्माणभन्दा प्रक्रिया पूरा गर्न बढी समय खर्चनुभएको स्मरण गरे । सरकारले नीतिगत सुधार र निजी क्षेत्रको संरक्षकत्व र अभिभावकत्व लिइदिने हो भने अपेक्षा गरिएभन्दा अगावै आर्थिक विकासलाई परिणाममुखी रुपमा अघि बढाउन आफूहरु सक्षम रहेको उनको भनाइ छ । 


्कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ढकालले चितवनलाई नेपालकै वृहत पर्यटकीयस्थल बनाउने प्रस्ताव समेत राखे। चितवनको अनुपम प्राकृतिक सौंदर्यलाई उपयोग गर्नुपर्ने र नेपालको मध्य भूभागमा रहेका कारण यहाँको पर्यटकीय सम्भावना बढी रहेको उखको भनाइ छ । चितवनको सम्पदा सदुपयोगका लागि सरकारबाट विधिवत निर्णय भए निजी क्षेत्र सहकार्य गर्न तयार रहेको उनले बताए । 
चितवन महोत्सवले निजी क्षेत्र जस्तोसुकै अप्ठेरो अवस्थामा पनि आफ्नो जिम्मेवारी पूरा गर्न सक्छ भन्ने प्रमाणित गरेको वरिष्ठ उपाध्यक्ष ढकालको भनाइ छ । कोभिडका कारण गत वर्ष हुन नसकेको चितवन महोत्सव यस वर्ष आइतबारदेखि सुरु भएको हो ।
 

प्रतिक्रिया